काठमाडौं- बिमा समितिले लकडाउन अवधिभर उद्योग प्रतिष्ठानले भुक्तानी गर्नुपर्ने बिमाको प्रिमियममा एक तिहाइ छुट दिने निर्णय गरेको छ। उद्योगी व्यवसायीसँगको छलफलपछि बन्द अवस्थामा रहेका उद्योग कलकारखानाको बिमा शुल्कमा छुट दिने निर्णय भएको हो।
उद्योगी व्यवसायीले प्रिमियममा छुट गर्नुपर्ने माग राख्दै आएका थिए। बिमा समितिले लकडाउनबाट प्रभावित क्षेत्रहरूलाई इङ्गित गरी यस अवधिभरको बिमा शुल्कमध्ये एक तिहाइ छुट दिने निर्णय गरेको थियो। तर, उद्योग क्षेत्रका विषयमा उक्त निर्देशन प्रस्ट नभएको भन्दै छुट माग राख्दै बिमा समिति पुगेका थिए।
शुक्रबार (आज) भएको छलफलपछि उद्योग प्रतिष्ठानलाई लकडाउन अवधिभरको प्रिमियमका साथै आरएसडि/एम/एसटीमा पनि एक तिहाइ छुट दिने निर्णय भएको उद्योग वाणिज्य महांसघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए। यसरी छुट पाउने रकम अर्को वर्षमा बिमा शुल्क तिर्ने क्रममा छुट हुनेछ। बिमा पोलिसी नवीकरण गर्दा यस्तो छुट पाउने समितिले जनाएको छ।
गोल्छाले यस विषयमा निर्णय भएको जनाए पनि बिमा समितिबाट आधिकारिक रुपमा निर्णय हुन बाँकी रहेको समितिका सूचना अधिकारी निर्मण अधिकारीले जानकारी दिए। आज सरोकारवाल पक्ष सबैसँग छलफल भएको उनले जानकारी दिए। उद्योगीसँगको छलफलपछि समितिले थप निर्णय गर्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।