काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब वुल्भ्सले ग्रिकको फुटबल क्लब ओलम्पियाकोसलाई समग्रमा २–१ ले हराउँदै युरोपा लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ। वुल्भ्स ४८ वर्षपछि पहिलोपटक युरोपियन प्रतिस्पर्धाको क्वार्टरफाइनलमा पुगेको हो।
बिहीबार राति भएको दोस्रो लेगको खेलमा आठौँ मिनेटमा नै पाएको पेनाल्टीमा राहुल जेमिनेजले गोल गर्दै वुल्भ्सको जित सम्भव बनाएका हुन्। पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो।
वुल्भ्स १९७२ पछि युरोपियन प्रतिस्पर्धामा क्वार्टरफाइनल पुग्न सकेको थिएन। यसका साथै वुल्भ्सले घरेलु मैदानमा पछिल्लो चार खेल गोल नखाइ जितेको अहिले पहिलोपटक हो।
युरोपा लिगमा बिहीबार राति नै भएको खेलमा रोमालाई हराउँदै सेभिया र गेटाफेलाई हराउँदै इन्टर मिलान पनि क्वाटरफाइनलमा पुगिसकेका छन्।
अब क्वाटरफाइनलमा इन्टर मिलान र लिभरकुसन, म्यानचेस्टर युनाइटेड र कोपनहेगन, शाख्तर डोनेस्क र बसेल साथै वुल्भ्स र सेभिया खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।