काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा चार करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले ४८ प्रतिशतले नाफा बढाएको हो।
तेस्रो त्रैमासिकको तुलनामा भने नाफा घटेको छ। तेस्रो त्रैमासिक अवधिमा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो। चौथो त्रैमासमा कोरोनाको प्रभाव देखिएको छ।
कम्पनीले खुद बिमा शुल्क आर्जन ८७ प्रतिशतले बढाउन सफल भएको छ। गत वर्षमा कम्पनीले एक अर्ब ३६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो। अघिल्लो वर्षमा ७३ करोड १३ लाख रुपैयाँ थियो।
यस वर्ष कम्पनीको दाबी भुक्तानी ५ गुणाले बढेको छ। कम्पनीले बिमितलाई ६ करोड १६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो। पोलिसी संख्या भने १४ प्रतिशतले बढेर १७ हजार ८८९ वटा पुगेको छ।
प्राथमिक सेयर निष्काशनको प्रक्रियामा रहेक कम्पनीको चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ। ६३ करोड रुपैयाँको प्राथमिक सेयर निष्कानका लागि धितोपत्र बोर्डको अनुमति कुरेर बसेको छ। त्यस्तै जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ छ। प्रतिसेयर आम्दानी २.९५ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।