काठमाडौं-प्रभु बैंकले निष्काशन गरेको ऋणपत्र पहिलो तीन दिनमा नै बिक्री भएको छ। सर्वसाधारणका लागि निष्काशन भएको ऋणपत्रमा मागभन्द बढी आवेदन परेपछि आजदेखि बिक्री बन्द गर्ने विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ।
बैंकले सोमबारदेखि दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो। कुल दुई अर्बमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको छ। सर्वसाधारणतर्फको ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भैसकेको बैंकले जनाएको छ। बाँकी ७६ करोड रुपैयाँको सर्वसाधारण ऋणपत्र र एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र पछिल्लो तीन दिनमा बिक्री भएपछि आजदेखि बिक्री बन्द गर्ने भएको हो।
लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन्।
यो ऋणपत्रको अवधि २०८४ सम्म कायम रहनेछ। यस अवधिमा लगानीकर्ताले १० प्रतिशत व्याज पाउने छन्।
बैंकमा तरलता बढ्दै गएपछि बैंकहरुले मुद्दती निक्षेप तथा साधारण निक्षेपको व्याजदर घटाइरहेका छन्। सस्तो व्याजदरमा पैसा राख्नुभन्दा ७ वर्षसम्मका लागि १० प्रतिशत व्याजदर आउने भन्दै लगानीकर्ताले ऋणपत्र खरिद गरेका हुन्।
गएका वर्षमा ऋणपत्र नबिकेर बैंकहरु समस्यामा थिए। धेरै समयपछि निष्काशन भएको तीन दिनमा नै बिक्री हुने अवस्था आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।