काठमाडौं– इटालियन क्लब इन्टर मिलानले लोनमा रहेका एलेक्सिस सान्चेजलाई आफ्नो क्लबमा स्थायी खेलाडीको रुपमा अनुबन्धित गरेको छ। चिलीका ३१ वर्षीय फरवार्ड सान्चेज २०१९ को अगस्टदेखि इन्टर मिलानमा लोनमा खेल्दै आएका थिए।
इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका सान्चेजलाई इन्टर मिलानले तीन वर्षका लागि अनुबन्धित गरेको हो। यो सम्झौतासँगै सान्चेज २०२३ सम्म इटालियन क्लब इन्टर मिलानमा रहने छन्। उनले इन्टर मिलानमा आएर २९ खेल खेल्दा चार गोल गर्न सफल भएका छन्।
२०१८ मा आर्सनलबाट भित्रिएका सान्चेजले म्यान्चेस्टर युनाइटेडको लागि ४५ खेलबाट पाँच गोल मात्रै गरेका थिए। यो १२ महिनाको समय अवधिमा उनी इन्टर मिलानमा आबद्ध हुने तेस्रो खेलाडी हुन्। यसअघि फरवार्ड रोमेलु लुकाकु र मिडफिल्डर अश्लेय योङलाई इन्टर मिलानले युनाइटेडबाट अनुबन्धित गरेको थियो।
बुधबार राति भएको युरोपा लिग फुटबलअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा इन्टर मिलानले स्पेनिस क्लब गेटाफेलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।