काठमाडौं- लगानीकर्ताले सस्ता सेयर खरिद गर्न खोज्दा २२ अंकले गिरावट भइसकेको बजार २१ अंकको बाउन्स ब्याकसहित १.२५ अंकले घटेर बन्द भएको छ। कारोबार सुरु हुने वित्तिकै घट्न थालेको बजार एक घण्टा १० मिनेटसम्ममा २२ अंकले ओरालो झरेको थियो। त्यसपछि विस्तारै बाउन्स हुने क्रममा अन्तिम समयमा ०.०९ प्रतिशतले घटेर १३८१.३८ अंकमा रोकिएको हो।
कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले भीडभाड नियन्त्रणका लागि थप कठाइ गर्ने नीति लिएको छ। थप संक्रमित बढ्दै गएमा सरकारले पुनः लकडाउन गर्नुपर्ने अवस्था आएमा बजार थप तल झर्ने आँकलन गर्दै यस अगाडि सेयर खरिद गरेकाले नाफा बुक गर्ने क्रममा सूचक तल झरिरहेको छ।
पछिल्ला दिनमा एक सय अंकभन्दा धेरैले तल झर्दा अधिकांश कम्पनीको मूल्य धेरै तल झरिसकेको छ। सस्ता सेयर उठाउने क्रममा बिहीबार २२ अंकले तल झरिसकेको बजार अन्तिममा केहि समालिएर बन्द भएको हो। बैंकिङ व्यापार हाइड्रोपावर अन्य माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचक तल झरेको छ।
सूचकमा धेरै नै तल झर्न थालेपछि कारोबार पनि घट्दै गएको छ। बिहीबार १८६ वटा कम्पनीको ९१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ। गुराँस लघुवित्त अजोड र नेपाल फाइनान्सको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।