काठमाडौं- नेपाल राष्ट्र बैंकले सात वर्षपछि नारायणी डभेलपमेन्ट बैंकलाई समस्याग्रस्त अवस्थाबाट हटाएको छ। नेपाल राष्ट्र बैंकको साउन ८ गतेको निर्णयअनुसार बैंकलाई समस्याग्रस्त अवस्थाबाट ससर्त फुकुवा गरिएको हो।
राष्ट्र बैंकले २०७० चैत २७ गते निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो। समस्याग्रस्त सूचीबाट हटेसँगै बैंकले बैंकिङ कारोबार गर्न स्वीकृति पाएको राष्ट्र बैंकले जनाएको छ।
हाल बैंकको चुक्ता पुँजी ५ करोड ५५ लाख रुपैयाँ रहेको छ। बैंकको सम्पूर्ण कारोबार बन्द भएकाले नेपाल राष्ट्र बैंकले यस अगाडि जारी गरेको पुँजी वृद्धि योजनामा सामेल हुन पाएको थिएन। तत्कालीन सञ्चालकहरुका कारण बैंकको कर्जा बिग्रिएको थियो। समस्याग्रस्त सूचीमा राख्नु अगाडि सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा धेरै थियो।
बैंकमा नयाँ लगानीकर्ता भित्रिएपछि नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएको हो। अहिले पनि निश्चित सर्त राखेर राष्ट्र बैंकले कारोबार गर्ने अनुमति प्रदान गरेको हो। बैंकले २०७५ मंसिर २८ गते दुई आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा गरेको थियो। उक्त साधारणसभाबाट बैंकको पुँजी बढाउने विशेष प्रस्ताव पारित भएको थियो। त्यससँगै बैंकमा नयाँ लगानीकर्ता भित्रिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।