काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीसँगको दोस्रो लेगमा रियल मड्रिडका ग्यारेथ बेल र जेम्स रोड्रिग्वेज टिमबाट बाहिर परेका छन्। एक खेलको प्रतिबन्धमा रहेका रामोस र फरवार्ड लाइनमा आठ जना रहँदा दुई स्टार खेलाडी टिमबाहिर रहेका हुन्।
च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा रियल मड्रिडले म्यानचेस्टर सिटीको सामना गर्न एक दिन बाँकी छ। शुक्रबार राति हुने खेलका लागि मड्रिड टिम पूर्ण विश्वास र तयारीमा रहेको प्रशिक्षक जिनेदिने जिदान बताउँछन्।
पहिलो लेगमा आफ्नै मैदानमा २–१ ले हारेको मड्रिडका लागि अहिले सिटीको मैदानमा जित सहज छैन। तर ला लिगाको उपाधिले हौसिएको टिममा आत्मविश्वास बढेको देखिन्छ। जिदानले अहिले टिममा राखेका खेलाडीहरुको अवस्था हेर्दा पनि उनी फरक योजनामा देखिन्छन्।
पछिल्लो सयम बेन्चमा भए पनि स्थान पाइरहेका र जुन २४ मा मायोर्काविरुद्धको खेलमा देखिएका बेलको प्रशिक्षक जिदानसँगको सम्बन्ध थप चिसिएको छ। कोरोना माहामारीका कारण लिग रोकिनुअघिसम्म अवसर पाइरहेका रोड्रिग्वेज त्यसपछि भने लामो समय बाहिर छन्।
जिदानले रोजेको खेलाडीहरुमा गोलकिपरमा कोर्टुवा, एरेलो र लल्टुब छन्। डिफेन्डरमा कार्भाजल, मिलिटाओ, रामोस, भारान, नाचो, मार्सेलो, मेन्डी र हर्नान्डेज छन्। मिडफिल्डमा क्रुस, मोडरिक, क्यासेमिरो, भालभर्दे र इस्को छन्। फरवार्डमा हाजार्ड, बेन्जेमा, भास्क्वेज, योभिक, एसेन्सियो, डियाज, भिनिसियस र रोड्रिगो छन्।
रियल मड्रिडले जितका लागि सिटीको मैदानमा कम्तिमा दुई गोल गर्नुपर्नेछ। त्यसैले कप्तान सर्जियो रामोसबिनाको डिफेन्समा भन्दा मड्रिडले अट्याकमा नै बल लगाउनुपर्नेछ। जसमा विशेष हुनेछन् – मार्को एसेन्सियो, करिम बेन्जेमा र इडन हाजार्ड।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।