काठमाडौं-बैंकहरुमा 'अधिक तरलता' भएपछि ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ। यो साउन ८ गते यता लगातार तेस्रो पटक जारी गरिएको रिभर्स रिपो हो। दुई महिना अवधिमा राष्ट्र बैंकले चार पटक रिभर्स रिपो जारी गर्दै छ।
लकडाउ पछि बैंकहरुबाट कर्जा जान छाडेको छ। कर्जा प्रवाह नहुँदा बैंकिङ तरलता उच्च हुँदै गएको हो। बजारमा धेरै पैसा थुप्रिएपछि ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले गत जेठ २८ गते पनि २० अर्ब रुपैयाँ सात दिन अवधिका लागि राष्ट्र बैंकमा तानेको थियो।
असारमा केही कर्जा गएकाले रिपो जारी भएको थिएन। यसै अवधिमा बैंकहरुले निक्षेपको ब्याजदरसमेत घटाइसकेका छन्।
राष्ट्र बैंकले आज पनि सात दिन अवधिको २० अर्ब रुपैयाँको रिभर्स रिपोका लागि बोलकबोल आह्वान गरेको छ। उक्त बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले भाग लिन पाउनेछन्।
बैंकले यस अगाडि साउन ८ गते र १५ गते पनि रिभर्स रिपो जारी गरेकाे हाे। नयाँ कर्जाको माग आउन नसकेपछि राष्ट्र बैंकले पटक-पटक पैसा खिच्नु परिरहेको हो।
बैंकमा पैसा धेरै थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तान्ने गरेको पाइन्छ। बजारमा तरलता नभएमा रिपो जारी गर्ने तथा बढी भएमा रिभर्स रिपो जारी गरिन्छ। बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न ‘रिभर्स रिपो’ जारी गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।