काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५१ जनाको शव फेला परेको प्रहरीले जनाएको हो। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३ सय ८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ४ सय २१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय १५ जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।