काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले फेरि लकडाउन गर्ने भन्ने हल्लाले केहि दिनदेखि सेयर बजार पुनः घट्न थालेको छ। लकडाउन खुलेपछि तीव्र गतिमा बढिरहेकाे सेयर बजार पछिल्लो समय पुनः घट्न थालेको हो। १८ दिनको अवधिमा मात्रै सेयर बजार १०० अंकले घटेको छ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि संक्रमितको संख्या बढ्न थालेपछि लगानीकर्तामा त्रास फैलिएको छ। मृत्यु हुनेको संख्या पनि बढ्न थालेपछि सरकारले फेरि लकडाउन गर्नसक्ने भन्दै लगानीकर्ताहरु आफूसँग भएको सेयर बिक्री गररेर बाहिरिन खोजिरहेका छन्।
संक्रमण बढ्न थालेपछि दोस्रो बजारमा लगानीकर्ताको भीडभाड पनि विस्तारै कम हुँदै गएको छ। बजार घट्न थालेसँगै उनीहरुकाे सक्रियता पनि विस्तारै कम हुँदै गएको हो।
बुधबार नेप्सेको नेटवर्किङ प्रणालीमा समस्या देखिएपछि नेप्सेको सर्वर र ब्रोकरको टिएमएसबीच सञ्चार नभएका कारण कारोबार रोकिएको हो। सुरुमै कारोबार रोकिएपछि नेप्सेले थप ४५ मिनेट थप गर्याे। कारोबार सुरु हुने बित्तिकै बिक्रीकर्ता हाबी हुँदा बजार १० मिनेटकै अवधिमा २३ अंकले गिरावट आयाे। प्रि-ओपनिङ सेसनमा लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा यसको प्रभाव कारोबारो अघिकाे समयमा देखा परेको हो।
बुधबार नेप्से सूचक २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा रोकिएको छ। १.५४ प्रतिशतले सूचक ओरालो झर्दा कारोबार रकम एक अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ। जम्मा १८६ वटा कम्पनीको कारोबार हुँदा १३० वटा कम्पनीको मूल्य घटेको छ भने २५ वटाकोमा सुधार देखिएको छ। अजोड इन्स्योरेन्सको आज पनि बढ्दो क्रममा सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।