काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ट नेताहरु माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी ओलीले पार्टी एकलौटी ढंगबाट चलाएको भन्दै रोष प्रकट गरेको छ।
बिजुलीबजारस्थित प्रेसिडेन्सियल कलेजमा भएको भेलामा उनीहरुले पार्टी विधि र पद्धतिमा नचलेको र मैमात्र पार्टी हुँ भन्ने हिसाबले ओलीले पार्टी चलाएको टिप्पणी गरे। उक्त छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य रघुजी पन्त, पम्फा भुसाललगायत सहभागी थिए।
भेलामा प्रचण्डले सरकार अराजकतातर्फ गएको बताए। उनले पार्टीको निर्णय सरकारले मान्ने कि, सरकारले पार्टीको निर्णय मान्ने भन्ने प्रश्न खडा भएको भन्दै व्यक्तिलाई केन्द्रमा राखेर निर्णयहरु गरिएको उल्लेख गरे।
वरिष्ठ नेता माधवकुमार नेपालले ‘म नै पार्टी हुँ’ भनेर ओलीले पार्टी चलाएको बताए। ‘पार्टी विधि र पद्धतिमा चलाइएन, राजनीतिक नियुक्तिमा एकलौटी गरियो, पार्टीका बैठकबाट भाग्ने काम भयो, पार्टीलाई कागजमा मात्र सीमित गरियो,’ उनले भने।
उनले हालै भएका राजनीतिक नियुक्तिप्रति आक्रोश पोखे। ‘आफूले विचौलियाहरु नियुक्ति गर्दै जाने, हामीलाई बिचौलियाको पक्षमा लागेर पार्टी फुटायो भन्ने?’, उनको प्रश्न थियो।
उनले पार्टीमा बहुमतको कदर गर्न पनि नेतृत्वलाई आग्रह गरे।
अर्का वरिष्ठ नेता झलनाथ खनालले पार्टी समाजवादी भनिए पनि उदारवादी अर्थतन्त्रतर्फ जाने गरी पुँजीवादी ढर्राको बजेट ल्याइएको भन्दै आलोचना गरे। उनले पनि पार्टीले विचौलिया र आफ्ना स्वार्थका मान्छेलाई नियुक्त गरेको आरोप लगाए। सरकार पार्टीले भन्दा केपी ओली गुटको मानिसले चलाएको आरोप उनको थियो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार कम्युनिस्ट पार्टीको भनिए पनि कम्युनिष्ट मूल्यमान्यताअनुसारको भएको नदेखिएको बताए। ‘नेतृत्वलाई सच्याउन सकिन्छ कि भनेर प्रयास गरियो, तर सकिएन, अब नेतृत्वलाई नै फेरबदल गरेर अघि बढ्नुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।