काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा रियल मड्रिड कप्तान सर्जियो रामोस हुने छैनन्। २-१ ले हारेको पहिलो लेगको रेड कार्डका कारण प्रतिबन्धमा परेका रामोसबिना मड्रिडको योजना फरक हुन सक्नेछ।
युरोपियन प्रतिस्पर्धा पछिल्लो समय रामोस बिना रियल मड्रिडले खेलेका ६ खेलमा १ खेल मात्र जितेको छ। पाँच खेल हारेको छ। रामोसबिना जितेको एक खेल पनि खासै महत्वपूर्ण थिएन। यही सिजन समूह चरणको खेलमा क्लब ब्रगलाई ३-१ ले जित्दा रियल मड्रिड त्यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो।
२०१७-१८ को क्वाटरफाइनलमा युभेन्टसविरुद्ध रियल मड्रिडले पहिलो लेगमा ३ गोल हानेको थियो। दोस्रो लेगमा रामोस खेलमा थिएनन्। जहाँ युभेन्टसले तीनै गोल हानिदिएको थियो। अन्तिम समयमा लुकास भास्क्वेजमार्फत पाएको पेनाल्टीले मात्रै मड्रिड जोगिन सकेको थियो।
२०१८-१९ को च्याम्पियन्स लिग त रामोस र रियल मड्रिड दुवैका लागि निराशाजनक रह्यो। रामोसबिना सिएसकेए मस्कोसँग खेलेको पहिलो खेल नै रियल मड्रिडले १-० ले गुमाएको थियो। मस्कोसँगकै दोस्रो खेलमा पनि रामोसबिना रियल मड्रिड ३-० ले हारेको थियो।
त्यही सिजन रियल मड्रिडले अन्तिम १६ को खेलमा आयाक्सलाई पहिलो लेगमा २-१ ले हराउँदा रामोसले जानीजानी पहेँलो कार्डका लागि फोउल गरे। पहिले नै एक पहेँलो कार्डमा रहेका रामोसको उद्देश्य क्वाटरफाइनलको खेल गुमाउनुभन्दा अन्तिम १६ कै दोस्रो लेग गुमाउँछु भन्ने थियो।
तर रामोसको त्यो सोच टिमाथि भारी भयो। आयाक्ससँगको दोस्रो लेगमा रियल मड्रिड ४-१ ले पराजित हुन पुग्यो। रामोसको त्यही प्रतिबन्धले यो सिजन उनले च्याम्पियन्स लिगमा पहिलो खेलमा पिएसजीविरुद्ध खेल्न पाएनन्। जहाँ नेमार र एमबाप्पेबिनाको पिएसजीसँग रियल मड्रिड ३-० ले पराजित भएको थियो।
रियल मड्रिडमा आबद्ध भए यता रामोसले चोट र प्रतिबन्धका कारण ३० च्याम्पियन्स लिग खेल गुमाएका छन्। जसमा समग्रमा हेर्दा भने रियल मड्रिडले १९ खेलमा जित, तीन बराबरी र ८ हार भोगेको छ।
च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा रियल मड्रिडले म्यानचेस्टर सिटीको सामना गर्न तीन दिन बाँकी छ। शुक्रबार राति हुने खेलका लागि मड्रिड टिम पूर्ण विश्वास र तयारीमा रहेको प्रशिक्षक जिनेदिने जिदान बताउँछन्।
पहिलो लेगमा आफ्नै मैदानमा २-१ ले हारेको मड्रिडका लागि अहिले सिटीको मैदानमा जित सहज छैन। तर ला लिगाको उपाधिले हौसिएको टिममा आत्मविश्वास बढेको देखिन्छ।
रियल मड्रिडले जितका लागि सिटीको मैदानमा कम्तिमा दुई गोल गर्नुपर्नेछ। त्यसैले कप्तान सर्जियो रामोसबिनाको डिफेन्समा भन्दा मड्रिडले अट्याकमा नै बल लगाउनुपर्नेछ। जसमा विशेष हुनेछन्- मार्को एसेन्सियो, करिम बेन्जेमा र इडन हाजार्ड।
अहिले मड्रिड टिमको अभ्यासमा पनि त्यही गोलमा बढ्ने शैली देखिन्छ। लामो दुरीबाट सट प्रहार गर्ने र वान भर्सेस वानबाट क्रसमा बढ्ने शैलीको विकास भइरहेको छ। त्यसमा कोरोना माहामारीका कारण रोकिएपछि सुरु भएको ला लिगामा लयमा रहेका बेन्जेमा केन्द्रमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।