काठमाडौं- नेपाल बैंक लिमिटेडले ५ वर्ष अवधिको लागि ७.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ। घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधा रहेको छ।
यसका अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि सुरुवात गरेको छ। लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ्ग क्षेत्रकै न्यून ब्याजदर हो। यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त २५ लाख रुपैयाँदेखि ९९ लाख रुपैयाँसम्मको लागी लघु उद्यम कर्जा र १ करोड देखी ३ करोड रुपैयाँसम्मको चालु तथा स्थिर पुँजी व्यवस्थापनका लागि समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने छ।
दुवै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पुँजी कर्जा र चालु सम्पत्ति व्यवस्थापनको लागि चालु पुँजी कर्जा प्रदान गर्ने बैंकले जनाएको छ। लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिनभित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ।
घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ। घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न यो कर्जाको सुरुवात गरिएको हो। यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ। यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ।
नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ बटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आवभित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कूल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।