काठमाडौं- नेपाल बैंक लिमिटेडले ८ प्रतिशत ब्याजदरमा नै घरकर्जा प्रदान गर्ने भएको छ। सोमबार बैंकले एक विज्ञप्ति जारी गर्दै ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गरिने जानकारी दिएको हो। घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिने बैंकले जनाएको छ।
बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि शुभारम्भ गरेको छ। लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको बैंकले जनाएको छ। सो ब्याजदर पनि उक्त प्रकृतिका अन्य बैंकले प्रवाह गर्ने कर्जाका तुलनामा कम ब्याजदर भएको बैंकको भनाइ छ।
सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारका लागि २५ देखि ९९ लाखसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकले जनाएको छ।ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको ७ कार्य दिनभित्र निर्णय गरी लघु उद्यम कर्जा प्रदान गर्न सकिने बैंकले जनाएको छ।
घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको उल्लेख गरेको छ। घडेरी कर्जाको वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ। यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल हुनुपर्ने बैंकले जनाएको छ। यो कर्जाको अवधि ५ देखि २० वर्ष सम्म कायम गर्न सकिने छ।
बैंकले १८६ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।