काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा रियल मड्रिडले म्यानचेस्टर सिटीको सामना गर्न चार दिन बाँकी छ। शुक्रबार राति हुने खेलका लागि मड्रिड टिम पूर्ण विश्वास र तयारीमा रहेको प्रशिक्षक जिनेदिने जिदान बताउँछन्।
पहिलो लेगमा आफ्नै मैदानमा २–१ ले हारेको मड्रिडका लागि अहिले सिटीको मैदानमा जित सहज छैन। तर ला लिगाको उपाधिले हौसिएको टिममा आत्मविश्वास बढेको स्पष्ट देखिन्छ। यसैले मड्रिड डिफेन्डर राफेल भारान आवश्यक दिनमा रियलले राम्रो खेल देखाउन सक्ने विश्वास रहेको बताउँछन्।
‘हामी रियल मड्रिड हौँ हरेक दिन जित्न चाहन्छौँ। सम्भव भएसम्म सबै जित्ने मेहनतमा हुनेछौँ। हुन त त्यही दिन जो टिम राम्रो हुन्छ उसैले जित्ने छ तर हामी आत्मविश्वासमा छौँ। जितको भोक हामीमा छ’ भारानले भनेका छन्।
रियल मड्रिडले जितका लागि सिटीको मैदानमा कम्तिमा दुई गोल गर्नुपर्नेछ। त्यसैले कप्तान सर्जियो रामोसबिनाको डिफेन्समा भन्दा मड्रिडले अट्याकमा नै बल लगाउनुपर्नेछ। जसमा विशेष हुनेछन्– मार्को एसेन्सियो, करिम बेन्जेमा र इडन हाजार्ड।
अहिले मड्रिड टिमको अभ्यासमा पनि त्यही गोलमा बढ्ने शैली देखिन्छ। लामो दुरीबाट सट प्रहार गर्ने र वान भर्सेस वानबाट क्रसमा बढ्ने शैलीको विकास भइरहेको छ। त्यसमा कोरोना माहामारीका कारण रोकिएपछि सुरु भएको ला लिगामा लयमा रहेका बेन्जेमा केन्द्रमा रहनेछन्।
प्रिमियर लिगमा हाजार्डले पाएको अनुभवले उनको भूमिका थप महत्वपूर्ण हुनेछ। चोटका कारण फर्किएपछि राम्ररी खेल्न नसकेको बताइरहेका हाजार्ड अहिले पूर्ण रुपमा तयार देखिन्छन्। चोटपछि नै फर्किएका एसेन्सियोको तीब्रता र सट प्रहार राम्रो देखिन्छ।
तर परिस्थितिहरु हेर्दा म्यानचेस्टर सिटीकै सम्भावना बलियो रहेको फुटबल विश्लेषकहरुको तर्क छ। पछिल्लो सयम म्यानचेस्टर युनाइटेका पूर्वखेलाडी वायन रुनीले सिटीको सम्भावना बलियो रहेको र यो समय च्याम्पियन्स लिग उपाधिमा नै सिटीको सम्भावना बलियो रहेको विश्लेषण गरेका छन्।
रियाद महरेज र रहिम स्टर्लिङको फरवार्ड लाइनलाई रोक्न रामोसको अभाव रियल मड्रिडमा हुन सक्नेछ। रामोसबिना पनि बलियो मानिने मड्रिड डिफेन्सले रोकेर मात्र पर्याप्त हुने छैन। कम्तिमा दुई गोल मड्रिडका लागि आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।