काठमाडौं- इंग्लिस क्लब चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले प्रिमियर लिगको नयाँ सिजन चेल्सीका लागि निकै छिटो भएको बताएका छन्। सेप्टेम्बर १२ देखि सुरु हुने भनिएको नयाँ सिजन आफूहरुका लागि आराम र तयारीका लागि पर्याप्त नभएको लामपार्डले बताएका हुन्।
२०२०-२१ को सिजनको मिति गएको महिना तय भएको थियो। तर च्याम्पियन्स लिगमा नयाँ खेल तालिकाअनुसार शनिबार राति चेल्सीले बायर्न म्युनिखसँग अन्तिम १६ अन्तर्गतको दोस्रो लेग खेल्दैछ।
यदि चेल्सीले पहिलो लेगमा ब्येहोरेको ३-० को हार उल्टाउन नसके पनि नयाँ प्रिमियर लिग सिजनका लागि उनीहरुसँग ३५ दिन मात्र रहनेछ।
‘प्रिमियर लिगमा स्तरीय खेल देखाउनका लागि खेलाडीहरुलाई पर्याप्त समय आवश्यक पर्छ। जुन नयाँ सिजनमा समस्या हुने देखिएको छ’ लामपार्डले भनेका छन्।
कोरोना माहामारीका कारण अहिलेको सिजनमा नै समस्याले गर्दा प्रिमियर लिगमा नयाँ सिजन सुरु हुनुभन्दा अघि टिमका लागि कम्तिमा ३० दिन आरामको समय रहने गरी योजना बनाइएको थियो। तर यदि चेल्सी अन्तिम १६ बाट अघि बढेमा भने त्यो समय पर्याप्त हुने छैन।
२३ अगस्टमा फाइनल खेल हुने गरी तय भएको च्याम्पियन्स लिग तालिकाले चेल्सीसँगै म्यानचेस्टर सिटीलाई पनि असर गर्न सक्नेछ। सिटी पनि च्याम्पियन्स लिगमा अझै यथावत छ। अन्तिम १६ कै दोस्रो लेगमा सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग शनिबार राति नै खेल्दैछ।
यसका साथै युरोपा लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र वुल्भ्स खेलिरहेका छन्। युरोपा लिगको फाइनल खेल २१ अगस्टका लागि तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।