काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले नाफा बढाएको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको इन्फ्राले अन्य बैंकमा पैसा जम्मा गरेर आर्जन भएको व्याज आम्दानीबाटै नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा बैंकले ८४ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६७ करोड एक लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
व्याज आम्दानीबाट बैंकले एक अर्ब २३ करोड रुपैयाँ आर्जन गरको छ। यस्तो खुद व्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८.४९ प्रतिशतले सुधार हाे। बैंक तथा वित्तीय संस्थामा मात्रै ८ अर्ब ७८ करोड रुपैयाँ जम्मा गरेर बसेको छ। बैंक आफैले भने जम्मा ५७ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ।
बैंकको हालको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ। बैंकले थप ८ अर्ब रुपैयाँको प्राथमिक सेयर निष्काशन गरेर २० अर्ब रुपैयाँ पुर्याउने योजना बनाएको छ। जगेडा कोषमा एक अर्ब ६३ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी ७ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।