काठमाडौं- कोरोना संक्रमणबाट जोगिन तथा बढ्दो बजारबाट उचित फाइदा लिनका लागि दोस्रो बजार अनलाइन प्रयोगकर्ता ह्वात्तै बढेका छन्। साउन लागेयता मात्रै १५ हजारभन्दा धेरैले अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार साउन १६ गतेसम्म अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ४७ हजार नाघेकाे छ। ब्रोकरहरुले कार्यालयमा भीडभाड बढ्न थालेपछि लगानीकर्ताहरुलाई अनलाइन कारोबारका लागि प्रोत्साहन गरिरहेका छन्।
लकडाउन खुलेपछि नयाँ लगानीकर्ताको प्रवेश बढिरहेको ब्रोकर एसोसिएनका अध्यक्ष भरत रानाभाटले बताए। पछिल्लो समय बजारमा नयाँ-नयाँ लगानीकर्ताको प्रवेश भइरहेको उनले जानकारी दिए।
अजोड इन्स्योरेन्सको प्राथमिक सेयरमा अहिलेसम्मकै अधिकतम ४ लाख ८७ हजारको आवेदन पर्नुले पनि बजारमा लगानीकर्ता बढिरहेको उनको तर्क छ। हालसम्म ६ लाख लगानीकर्ताले डिम्याट खाता खोलेका छन्। ती मध्ये दुई लाख ६४ हजार ६३३ जना दोस्रो बजारमा सक्रिय रहेको नेप्सेले जनाएको छ।
सबैभन्दा धेरै सक्रिय लगानीकर्ता दिपशिखा सेक्युरिटिजको रहेको छ। तर, अनलाइन ग्राहक भने २१७६ जनामात्रै रहेका छन्। त्यस्तै सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता सनि सेक्युरिटिजका छन्। सनिबाट तीन हजार २३९ जना लगानीकर्ताले अनलाइन कारोबार गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।