काठमाडौं-नेपालमा कोरोनाको संक्रमण बढ्न थालेपछि यसको मनोवैज्ञानिक असर पुनः शेयर बजारमा देखा पर्न थालेको छ। बजार सुधार हुने विश्लेषण हुँदै आएकोमा फेरि लकडाउन हुने डरले लगानीकर्ताहरुले आफूसँग भएको शेयर बिक्री गरेर पैसा बनाउन थालेका हुन्।
आइतबार बजार सुरु भएदेखि नै घटिरहेको छ। दुई घण्टामै ३४ अंक माथिको गिरावट आएकाे थियाे। केही नाफा भएका शेयर पनि बिक्री गरेर पैसा बनाउन खोज्ने लगानीकर्ताका कारण बजार घटिरहेको हो। जम्मा १८६ वटा कम्पनीको कारोबार हुँदा १५१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ९ वटाको मात्रै सुधार देखिन्छ।
पछिल्लो समयमा भएको सुधारबाट नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा शेयर बजारमा भारी गिरावट आएको हो। गत साताको अन्तिम दिन केही सुधार देखिँदा यो साताको पहिलो दिनदेखि नै बढ्ने विश्लेषण गरिएको थियो। तर दिन प्रतिदिन कोरोनाको कारणले मर्नेको संख्या पनि बढ्न थालेपछि पैसा हुने लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा पुगेका हुन्।
अहिले नै लगानी गर्नुभन्दा अवस्था सामान्य भएपछि लगानी गर्ने मुडमा पुगेको एक ब्रोकरले बताए। बजार सुधारका लागि नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डले बजार मैत्री नीति ल्याएसँगै बजार सुधार हुने अपेक्षा गरिएको थियो। बजार सुधारका लागि जतिसुकै राम्रो नीति ल्याए पनि कोरोनाको संक्रमण थप फैलिन थालेपछि बजार बढ्ने भन्दा घट्न थालेको हो।
बजार सुधारको आशा गर्ने ठाउँ धेरै भए पनि अवस्था अझै सामान्य नहुँदा लगानीकर्ताको मनोबल कमजोर भएको शेयर बजारका जानकार दिलिप मुनाकर्मी बताउछन्। सूचीकृत कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। केही लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण हेर्दा राम्रो मुनाफा आर्जन गरिरहेको देखिन्छ।
नेपाल राष्ट्र बैंकको रेगुलेटरी वित्तीय विवरण अनुसार राम्रो नाफा हुने देखिन्छ। तर कोभिड नियन्त्रणभन्दा बाहिर गएमा पुनः लकडाउन गर्नु पर्ने अवस्था आउने भएकाले आर्थिक अवस्था थप दयनीय हुने देखिएको विश्लेषकहरु बताउछन्। छिमेकी मुलुक भारतमा कोभिड नियन्त्रण बाहिर गएसँगै यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा पनि पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।