काठमाडौं-चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कप फुटबलको उपाधि जितेको छ। शनिबार राति भएको खेलमा चेल्सीलाई २-१ गोलअन्तरले पराजित गर्दै आर्सनलले १४ औं पटक एफए कपको उपाधि जितेको हो।
आर्सनललाई उपाधि दिलाउन पेरिक इमेरिक आबुमेयाङले दुई गोल गरे। चेल्सीका लागि भने क्रिस्टियन पुलिसिकले गोल गरेका थिए।
खेलको पाँचौं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर यो अग्रता चेल्सीले जोगाउन नसक्दा उपाधि जित्न सकेन। खेलको २८औं मिनेटमा आर्सनलले पेनाल्टी पाएको थियो। चेल्सीका खेलाडीले अबुमेयाङलाई पेनाल्टी क्षेत्रमा लडाएपछि आर्सनलले पेनाल्टी पाएको थियो। पेनाल्टीबाट गोल गर्दै अबुमेयाङले आर्सनललाई १-१ गोलको बराबरीमा दिलाए।
खेलको ६७औं मिनेटमा अबुमेयाङले अर्को गोल गर्दा चेल्सीविरुद्ध आर्सनलले २-१ गोलको अग्रता बनायो। म्याटेयो कोभासिकले खेलको ७३औं मिनेटमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि चेल्सीलाई बाँकी समयमा रोक्दै आर्सनलले १४औं पटक एफए कपको उपाधि जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।