काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज कम्पनीलाई प्राथमिक सेयर निष्काशन गर्ने अनुमति दिएको छ।
बिमा समितिबाट नयाँ अनुमति पाएका १० जीवन बिमा कम्पनी मध्ये रिलायन्स लाइफ प्राथमिक सेयर निष्काशन गर्ने पहिलो कम्पनी भएको छ। बिमा ऐनअनुसार बिमा कम्पनीहरुले चुक्ता पुँजीको ३० प्रतिशत सेयर अनिवार्य सर्वसाधारणहरुका लागि जारी गर्नुपर्ने हुन्छ। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ। सर्वसाधारणतर्फको ६३ करोड रुपैयाँ निष्काशन गरेसँगै कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। केहि समयभित्रै कम्पनीले सर्वसाधारणको लागि उक्त सेयर बिक्री गर्न सक्ने छ। उक्त सेयर मध्ये दुई प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि बिक्री गर्ने छ।
कम्पनीको सञ्चालक समितको अध्यक्षमा तारा चन्द केडिया रहेका छन्। कम्पनीको प्रमुख संचालकमा केडिया परिवारका साथै सिद्धार्थ बैंक पनि रहेको छ। प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।