काठमाडौं- एनआरएन इफ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले आजदेखि सर्वसाधारणतर्फको ३३ लाख ९८ हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ। एनआरएनको प्रमुख लगानी रहेको यस कम्पनीले चार वटा जलविद्युत् आयोजनामा लगानी गरेको छ।
जलविद्युत् कम्पनीमा लगानी गर्ने उद्देश्यले खुलेको यस कम्पनीले ३३ करोड ९८ लाख रुपैयाँको प्राथमिक सेयर छिटोमा साउन २१ गतेसम्म निष्काशन गर्ने छ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा भदौ तीन गतेसम्म निष्काशन गर्ने छ।
कम्पनीले सर्वसाधारणतर्फको सेयरमध्ये २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीहरुको लागि, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् एक लाख ६९ हजार कित्ता सेयर छुट्टाएको छ। लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। कम्पनीले सार्वजनिक गरेको विवरण पत्रअनुसार गत आर्थिक वर्षको मुनाफाका आधारमा प्रतिसेयर आम्दानी २ रुपैयाँ छ। अबको तीन आर्थिक वर्षपछि कम्पनीले प्रतिसेयर आम्दानी चार रुपैयाँ हुने प्रक्षेपण गरेको छ।
कम्पनीले हिमालयन पावर पार्टरमा ३८ करोड तीन लाख रुपैयाँ लगानी गरेको छ। २७ मेगावाट क्षमताको यो कम्पनीले मंसिरबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। यस कम्पनीले अर्को ७३ मेगावाट क्षमताको सानिमा मिडिल तमोर हाइड्रोपावरमा लगानी गरेको छ। सानिमा मिडिलमा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ। सानिमा मिडिलले व्यावसायिक उत्पादन गर्न २ वर्ष लगाउने लक्ष्य लिएको छ।
कम्पनीले २८ मेगावाट क्षमताको लिखु जलविद्युत् कम्पनीमा १० करोड रुपैयाँ लगानी गरेको छ। व्यावसायिक उत्पादन सुरु गर्न अझै साढे एक वर्ष लाग्ने कम्पनीले जनाएको छ। कम्पनीले १४ मेगावाट क्षमताको मैंलुङ खोला जलविद्युत् आयोजनामा २ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ। यसको व्यावसायिक उत्पादन २०७८ असार लाग्ने अनुमान गरिएको छ। कम्पनीको कार्यकारी अध्यक्ष जिवनाथ लामिछाने रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।