काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सञ्चालक परिषद सदस्यमा ६ जना मनोनयन गरेका छन्। जसमा रिम रानाभाट, इन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र गोविन्द प्रसाद भट्टराई छन्।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ कार्यान्वयनमा आएसँगै नयाँ प्रक्रियाअनुसार नियुक्तिका कामहरु भइरहेका हुन्। राखेप उपाध्यक्षमा शिव कोइराला र नयाँ प्रक्रियाअनुसार सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन्।
नयाँ ऐन अनुसार राखेपमा ३७ सदस्यीय सञ्चालक परिषद रहने छ। जसमा खेलकुद मन्त्रीले १२ जना सिधा नियुक्त गर्नेछन्। बाँकी नियुक्तिको काम प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
अहिले सदस्य बनाएर पठाइएका रिम रानाभाट र इन्दिरा निरौला सदस्यसचिव छनोट गर्ने सिफारिस समितिमा पनि थिए। रिम यसअघि राखेपमा तालिम तथा प्रशिक्षण विभाग प्रमुख थिए। पूर्वभलिबल खेलाडी इन्दिरा यसअघि पनि राखेप बोर्ड सदस्य थिइन्।
ऐनको दफा ३ उफदफा २ ‘ठ’ अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञ मध्येबाट रिम रानाभाट र इन्दिरा निरौलालाई छानिएको हो।
ऐनको दफा ३ उफदफा २ ‘ढ’ अनुसार सम्बन्धित राष्ट्रिय खेल संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यहरुमध्येबाट सम्बन्धित संघको सिफारिसमा चपलीका अर्जुन केसी, बाग्लुङ बिहुका सम्पन्न श्रेष्ठ, चितवन भरतपुरका सुवास श्रेष्ठ छानिएको जनाइएको छ।
अर्जुन केसी पहिले पनि राखेप बोर्ड सदस्य थिए। उनी बक्सिङ संघका उपाध्यक्ष पनि हुन्। सम्पन्न श्रेष्ठ पश्चिमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष थिए। पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल अमेरिका गएपछि उनी अध्यक्ष भएका थिए। यस्तै सुवास श्रेष्ठ ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।
यस्तै ऐनको दफा ३ उफदफा २ ‘त’ मा उल्लेख भएअनुसार परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी नुवाकोट चारघरेका गोविन्दप्रसाद भट्टराईलाई पठाइएको मन्त्रालयले जनाएको छ।
राखेपमा ३७ सदस्यीय सञ्चालक परिषदबाहेक पनि ७ जना रहने कार्यकारी समितिको पनि व्यवस्था छ। कार्यकारी समितिमा सदस्यसचिव संयोजक रहने छन्। अरु सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, परिषदका सदस्यमध्येबाट अध्यक्षले मनोनित गरेको कम्तीमा एक महिलासहित दुईजना, परिषदको सदस्यमध्येबाट परिषदले नै मनोनित गरेको एकजना महिलासहित दुईजना र परिषदको प्रशासन महाशाखा प्रमुख रहने व्यवस्था छ।
को को हुनेछन् सञ्चालक परिषदमा? कसरी हुनेछन् नियुक्त?
युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री - अध्यक्ष
खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले मनोनयन गरेको एकजना - उपाध्यक्ष
पदिषदको सदस्य सचिव
अन्य सदस्यहरुमा
- युवा तथा खेलकुद मन्त्रालयका सचिव
- नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव वा निजले तोकेको सोही मन्त्रालयको सहसचिव
- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खेलकुद क्षेत्र हेर्ने एक/एक जना गरी तीन जना
- विश्वविद्यालयहरुका खेलकुद विभाग प्रमुखमध्ये अध्यक्षले मनोनयन गरेको एकजना
- युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख
- प्रत्येक प्रदेशको खेलकुद विकाससँग सम्बन्धित प्रदेश स्तरका संस्थागत संरचनाका कार्यकारी प्रमुख
- खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वखेलाडीहरु मध्येबाट सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कम्तिमा तीनजना महिलासहित नौ जना
- खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञ मध्येबाट अध्यक्षले मनोनयन गरेको कम्तीमा एकजना महिलासहित दुई जना
- नेपाल ओलम्पिक पारालम्पिक लगायतका अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यताप्राप्त ओलम्पिक कमिटीमध्येबाट प्रतिनिधित्व हुने गरी सम्बन्धित कमिटीको सिफारिसमा अध्यक्षले मनोनयन गरेको दुईजना
- सम्बन्धित राष्ट्रिय खेल संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यहरुमध्येबाट सम्बन्धित संघको सिफारिसमा अध्यक्षले मनोनयन गरेको कम्तीमा दुईजना महिलासहित पाँच जना
- उद्योग वाणिज्य महासंघको सिफारिसमा अध्यक्षले मनोनयन गरेको एकजना
- परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी अध्यक्षले मनोनयन गरेको एकजना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।