काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाबाट विंगर फेरान टोरेसलाई किन्ने भएको छ। सिटी २३ मिलियन युरोमा टोरेस किन्ने सहमति नजिक पुगेको हो।
सिटीबाट लेरोए साने जर्मन क्लब बायर्न म्युनिक गएकाले उनको स्थानमा टोरेस ल्याउन लागिएको बताइएको छ। २० वर्षका टोरेस पनि म्यानचेस्टर सिटीसँगको सम्झौतामा खुसी रहेको बताइन्छ।
प्रिमियर लिगमा यो सिजन दोस्रो भएको म्यानचेस्टर सिटीको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा बाँकी नै छ। पछिल्लो समय युरोपियन फुटबलमा सिटीको उपस्थिति विशेष रुपमा हेरिन्छ। जहाँ टोरेसले आफूलाई फरक रुपमा अघि बढाउन पाउनेछन्।
बल अघि बढाउने समयमा आफूसँग बल हुँदा मात्र होइन बल नहुँदा पनि टोरेसको अवस्थिति महत्वपूर्ण हुने मैदानमा देखिन्छ। खाली ठाउँ बनाउने र विंगरका लागि बल पासको अवसर जुटाउन उनी माहिर मानिन्छन्।
बल ड्रिबलमा पनि राम्रा देखिने टोरेस बल लिँदा र अघि बढाउँदा शरीरको अवस्थिति पनि राम्रो बनाउँछन्। त्यसका साथै विंगमा उनको नियन्त्रणमा बल रहँदा अन्य खेलाडी ओभरल्यापमा बढ्न पनि सहयोग हुनेछ। यो सिजन भ्यालेन्सियाबाट ४४ खेल खेलेका उनले ६ गोल गर्नुका साथै ८ गोलका लागि अवसर बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।