काठमाडौं- साताको अन्तिम दिन सेयर बजार ७.५३ अंकले सुधार भएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार १२ अंकले तल झरेको थियो।
कारोबारको अन्तिम समयमा १२ अंकको बाउन्स ब्याक भएर ७.५३ अंकले सुधार भएको हो। गएका तीन कारोबार दिनमा ३३ अंकले घटेको थियो। बजार सुधार हुने मनोविज्ञानका कारण लगानीकर्ताहरु मौका कुरेर बसेका छन्।
कारोबारको सुरुवाती अवस्थामा बजार रातो देखिँदा कारोबार रकम घटेको छ। बिहीबार कारोबार रकम एक अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ। १८९ वटा कम्पनीको सेयर कारोबार हुँदा १०९ वटा कम्पनीको सेयर मूल्यमा सुधार आएको छ भने ३८ वटा कम्पनीको मूल्य घटेको छ।
सस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ। आधार मूल्यभन्दा आधाले घटेका जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्किट लाग्न थालेका छन्। नयाँ तथा साना लगानीकर्ता बजार प्रवेश गर्दा यस्ता कम्पनीको सेयर मूल्यमा उछाल आएको हो।
बिहीबार अधिकांश लघुवित्त वित्तीय संस्थाको सेयरमा गिरावट आएको देखिन्छ। नेपाल राष्ट्र बैंकले लघुवित्तको नाफामा प्रभावित पार्ने गर्ने ब्याजदरमा कडाइ गर्दा सेयर मूल्यमा गिरावट देखिएको हो। बिहीबार सम्पुर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।