काठमाडौं- इटालियन सिरि ए फुटबल च्याम्पियन युभेन्टस आफ्नो ३७औं खेलमा काग्लियारीसँग स्तब्ध बनेको छ। लिगमा अहिलेसम्म ३१ गोल गरेका क्रिष्टियानो रोनाल्डोका लागि युरोपियन गोल्डेन बुटको यात्रा कठिन देखिन्छ।
अहिले रोनाल्डोभन्दा अघि इटालियन क्लब लाजियोका इमोबाइल छन्। उनले ३५ गोल गरिसकेका छन्। यस्तै जर्मन क्लब बायर्न म्युनिकका लेवान्डोस्कीले ३४ गोल गरेका छन्।
युरोपियन लिगहरुमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने गोल्डेन बुट अवार्ड रोनाल्डोले अहिलेसम्म चार पटक जितेका छन्। उनीअघि स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीले ६ पटक जितेका छन्।
बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली काग्लियारीसँग २-० गोलअन्तरले पराजित भएको हो। युभेन्टसलाई पराजित गर्न काग्लियारीका लुका गाग्लियानो र जियोभानी सिमेनले गोल गरे।
खेलको आठौं मिनेटमा नै लुकाले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा जियोभानीले गोल थप्दा काग्लियारीले २–० गोलको अग्रता बनाएको थियो।
पहिलो हाफमा नै २-० गोलअन्तरले पछि परेको युभेन्टसले दोस्रो हाफमा गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन।
शीर्ष स्थानको युभेन्टसलाई पराजित गरेसँगै काग्लियारी १३औं स्थानमा उक्लिएको छ। उसको ३७ खेलबाट ४५ अंक छ। यसअघि नै उपाधि जितिसकेको युभेन्टसको भने ३७ खेलबाट ८३ अंक छ। दोस्रो स्थानको इन्टर मिलानको समान खेलबाट ७९ अंक हुँदा तेस्रो स्थानमा रहेको एटलान्टाको ३७ खेलबाट ७८ अंक छ।
बुधबार राति नै भएका अन्य खेलमा चौथो स्थानको लाजियोले १९औं स्थानको ब्रेसियालाई २-० गोलअन्तरले हराउँदा पाँचौ स्थानको रोमाले १६ औं स्थानको टोरिनोलाई ३-२ गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।