काठमाडौं- नेपाली कांग्रेसले गठन गरेको ज्येष्ठ राजनीतिज्ञ सभाका विषयमा पार्टीका नेता मीनेन्द्र रिजालले असन्तुष्टि व्यक्त गरेका छन्। उनले व्यंग्यात्मक शैलीमा आफ्नो असन्तुष्टि समाजिक सञ्जालमा व्यक्त गरेका हुन्।
पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट करिब दुई दर्जन सदस्यहरू समावेश भएको तर आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको मोरङ जिल्लाबाट भने तीन जना मात्र सदस्य रहेको भन्दै उनले असन्तुष्टि पोखेका हुन्।
ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएको विषयमा समेत उनले अनभिज्ञता प्रकट गरेका छन्।
'पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएछ। डडेलधुराका करिब दुई दर्जन सदस्य हुँदा मोरङका तीन जना पर्नुभएछ। मोरङका सबै अझै जवान भएर हो कि, ममा पार्टीको इतिहासको अनुपातको ज्ञान हराएको हो? अन्यमनस्क छु,' उनले ट्विटमा लेखेका छन्।
बुधबार सभापति देउवाले आफ्नै अध्यक्षतामा ४७९ सदस्ययी जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।