काठमाडौं- एनसेलले माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)अन्तर्गतका विद्यार्थीलाई अनलाइन कक्षाका लागि आवश्यक पर्ने एप्स चलाउन मिल्ने गरी विशेष अफर ल्याएको छ।
अफरअन्तर्गत विद्यार्थीले २५० (करबाहेक) रूपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स चलाउन मिल्ने गरी २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा प्राप्त गर्न सक्ने एनसेलले जानकारी दिएको छ। यसैगरी, सियुजी नम्बरमा कल गर्नका लागि हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम, ५० अन नेट एसएमएस सेवा प्राप्त गर्न सक्ने बताइएको छ।
अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी‚ शिक्षक/शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्नका लागि यो अफर ल्याइएको एनसेलको भनाइ छ।
हिसानसँग अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न एनसेलले समझदारी गरेपछि यस्तो योजना ल्याएको हो।
हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट विद्यार्थीहरूले सस्तोमा धेरै लाभ लिन सक्ने भएकाले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
‘विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ। पुरानै शैलीमा कहिले कक्षाहरु सुरु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘भर्चुअल कक्षाका लागि एनसेलसँगको सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ। यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।