फाइल तस्बिर
काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाले अलोकतान्त्रिक विधि अपनाएको निष्कर्षसहित विधानविपरीत गठन भएका निर्णय फिर्ता लिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ध्यानाकर्षण पत्र बुझाउने भएको छ।
केन्द्रीय कार्यालयमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले संस्थापन पक्षले विधान कुल्चेको आरोप लगाएको छ। विभाग गठन, क्रियाशील सदस्यता वितरण र पार्टी प्रवेश गराउने कार्यविधिअनुसार नभएको पौडेल पक्षको ठहर छ।
विधानविपरीत विभाग गठनको निर्णयले संस्थापन पक्ष १४ औं महाधिवेशन प्रभावित पार्ने खेलमा रहेको पौडेल पक्षले जनाएको छ।
‘विधानतः ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने थियो। महाधिवेशन घोषणा भइसकेपछि विभाग बनिरहेका छन्।’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘एकलौटी ढंगबाट विभाग गठन हुनु विधिसम्मत छैन।’ देउवाले लोकतान्त्रिक पार्टीमा अलोकतान्त्रिक विधि अपनाएको पौडेल पक्षको जिकीर छ।
क्रियाशील सदस्यता वितरण प्रक्रियाभन्दा बाहिरबाट अनियमित तरिकाले भएको परियारले बताए। पार्टीमा अन्य दलका नेता कार्यकर्ता भित्र्याउने विधि समेत गलत अवलम्बन गरिएको पौडेल पक्षको दाबी छ। ‘केन्द्रीय स्तरका व्यक्तिलाई केन्द्रबाट प्रवेश गराउने प्रावधान छ। जिल्ला तहका नेतालाई जिल्लाबाट प्रवेश हुनुपर्छ‚’ परियालले भने, ‘विधानमा भएकै व्यवस्थालाई पनि लागू गरिएन।’ लोकतान्त्रिक पार्टी भनि कांग्रेसले आफूले दाबी गरेपनि विधान उल्लंघन गर्दा नैतिक बल कमजोर भएको परियारले बताए।
महाधिवेशनलाई प्रभावमा पार्ने गतिविधि संस्थापन पक्षबाट भएकाले लिखित रुपमा ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ। देउवालाई ध्यानाकर्षण पत्र बिहीबार बुझाउने बताइएको छ।
बैठकमा पौडेल पक्षका शीर्ष नेतासहित काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।