काठमाडौं- बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि दुई महिनाकै अवधिमा नेपाल राष्ट्र बैंकले दोस्रो पटक २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले साउन १५ गतेदेखि साउन २२ गतेसम्म ७ दिन अवधिको रिभर्स रिपोका लागि बोलकबोल आह्वान गरेको छ।
उक्त बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले भाग लिन पाउनेछन्। नयाँ कर्जाको लगानी नभएपछि नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ तान्न लागेको हो।
बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले यसअघि जेठ २८ गतेदेखि असार तीन गतेसम्मको रिभर्स रिपो जारी गरेको थियो। लकडाउन सुरु भएयता बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन्। तर वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सलगायतका कारणले बैंकमा पैसा जम्मा हुँदै गएको छ।
नयाँ कर्जा नगएपछि बैंकहरुले निक्षेपको ब्याज घटाइरहेका छन्। साथै बैंकहरुबीचमा ऋणी खोसाखोसको अवस्था सिर्जना हुन थालेको छ। बैंकमा पैसा धेरै थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तान्ने गरेको पाइन्छ। बजारमा तरलता नभएमा रिपो जारी गर्ने तथा बढी भएमा रिभर्स रिपो जारी गरिन्छ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न ‘रिभर्स रिपो’ जारी गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।