काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कडाइ गर्ने निर्देशन जारी गरेसँगै यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको छ। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको व्याजदर, शेवा शुल्कमा कडाइ गरेसँगै माइक्रोफाइनान्सको सूचक २.२४ प्रतिशतले तल झरेको छ।
मौद्रिक नीतिले उचालिएको शेयर मौद्रिक नीतिको कार्यान्वयनसँगै घट्न थालको छ। यो साताको चार कारोबार दिनमा शेयर बजार ३४ अंकले तल झरेको छ। बुधबार कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिमसम्ममा २३.३६ अंकले ओरालो झरेर १४३१.५२ अंक कायम भएको छ।
नेप्से सूचक १.१६ प्रतिशतले गिरावट भए पनि एक अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। १८७ वटा कम्पनीको कारोबार हुँदा १३० वटाको मूल्य घटेको छ भने २९ वटाको बढेको छ। सस्तो मूल्यका जलविद्युतको मूल्य बढे पनि बीमा बैंक तथा लघुवित्तको सूचकमा भारी गिरावट आएको छ।
पछिल्लो समय काठमाडौंमा कोरोनाको संक्रमण बढिरहेको छ। संक्रमण बढ्न थालेपछि लगानीकर्तामा मनोवैज्ञानिक असर देखा पर्न थालेको हो। यसअघिको लकडाउनअघि कोरोनाको असर दोस्रो बजारमा परेको थियो। १६ सय अंकभन्दा माथिको शेयर बजार ११ सय अंकको लाइनमा झर्दा कोरोना कारक थियो।
कोरोनाको संक्रमण तथा घट्दो बजारका कारण बिस्तारै लगानीकर्ताको आवत जावत पनि घटिरहेको एक ब्रोकरले बताए। एक साता अगाडि ब्रोकर कार्यालयमा लगानीकर्ताको भिडभाड थियो। ब्रोकर कार्यालयका कर्मचारीहरुले लगानीकर्ताको भिड नियन्त्रण गर्न सक्ने अवस्था थिएन। लगानीकर्तालाई अनलाइन कारोबार गर्न प्रोत्साहन गर्दा पनि लगानीकर्ताको भीड बढेको एक ब्रोकरले जानकारी दिए। बजार घट्न थालेसँगै उक्त भीड पनि आफैं घट्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।