काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि थप प्रोत्साहनको प्याकेज ल्याएको छ। एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावलीमा अतिरिक्त थप सुविधा दिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले मर्जरमा जाने लघुवित्तलाई २०७९ असार मसान्तसम्म सञ्चालन जोखिमबापत कूल सम्पत्तिको एक प्रतिशत रकममात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्नेछ। वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश 'नगद वा बोनस' वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०७९ असार मसान्तसम्मको लागि छुट प्रदान गरिएको छ।
एकल ग्राहक कर्जा सीमा नाघेका ऋणीको कर्जालाई सीमाभित्र ल्याउन समय थप गर्ने म्याद दिइनेछ। तोकिएको पुँजी कोष अनुपात पुर्याउनुपर्ने समय थप गरिनेछ। सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागू नहुने भएको छ।
समूहमा आबद्ध नभएका गाउँपालिका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई लघुउद्यम सञ्चालन गर्न स्वीकार योग्य धितो लिई प्रदान गरिने कर्जाको सीमा १५ लाख रुपैयाँसम्म पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।