काठमाडौं-शिखर इन्स्योरेन्स कम्पनीले नबिकेकाे ८७ हजार ४१२ कित्ता हकप्रद शेयर बोलकबोल लिलामबाट बिक्री गर्ने भएको छ।
कम्पनीले असार १४ देखि साउन ४ गतेसम्म चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निस्काशन गरेको थियो। उक्त नबिकेको हकप्रद शेयर सर्वसाधारण तर्फको हो।
उक्त हकप्रद शेयरमा ९७ प्रतिशतभन्दा बढीकाे आवेदन परेको थियो। आवेदन नपरेको उक्त शेयर साउन २१ गतेदेखि २८ गतेसम्मका लागि बोलपत्र आह्वान गरेको छ। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवेदन दिन सक्ने छन्।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा नेपाल इन्भेष्टमेन्ट बैंकका केही शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्दा प्रतिकित्ता एक सय रुपैयाँभन्दा माथि आवेदन दिन सक्ने छन्।
हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १२४३ रुपैयाँ छ। एक वर्ष अवधिमा कम्पनीको बजार मूल्य अधिकतम १३७० र न्युनतम ७०० रुपैयाँसम्ममा कारोबार भएको छ। हकप्रद शेयर निष्काशन प्रक्रिया सकिएपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।