काठमाडौं- एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को बोर्ड अफ गभर्नर्सको बैठक सकिएको छ। भर्चुअल माध्यमबाट भएको बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडा सहभागी भएका छन्।
बैठकमा अर्थमन्त्री खतिवडाले नेपालजस्ता देशका लागि एआइआइबीको सहुलियतपूर्ण सहायता आवश्यक पर्ने भन्दै आर्थिकरूपमा उपयुक्त देखिएका आयोजनामा लगानी गर्न आग्रह गरे। दीर्घकालीन आयोजना अघि बढाउन तथा दीगो विकास लक्ष्य हासिल गर्न एडिबीजस्ता निकायको सहयोग महत्वपूर्ण हुने भन्दै खतिवडाले पूर्वाधार तथा लगानी न्यून भएका क्षेत्रमा प्राथमिकता दिन पनि आग्रह गरेका छन्।
न्यून मध्यम आय भएका मुलुकहरूलाई विभिन्न लक्ष्य हासिल गर्न लगानी अभाव हुने गरेको भन्दै खतिवडाले नेपालजस्ता देशका लागि सहयोग बढाउन पनि जोड दिए। उनले कोरोनाका कारण सिर्जित परिस्थितिका कारण लगानीका प्राथमिकता र क्षेत्र फेरिएको भन्दै स्वास्थ्य क्षेत्र र अर्थतन्त्र सबलीकरणका लागि काम गर्नुपर्ने बताए।
एआइआइबीको वार्षिक बैठकको उद्घाटन चिनियाँ राष्ट्रपति सि चिनफिङले गरेका थिए। नेपालमा यो बैंकले तामाकोशी पाचौँ जलविद्युत आयोजनामा लगानी गर्दैछ। एआइआइबीको संस्थापकमध्ये नेपाल पनि एउटा देश हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।