काठमाडौं- एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एनसेलले पुल्चोक क्याम्पसका पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गर्दै आएको छ।
कोरोना भाइरसको महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकोले एनसेलले यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गतको नगद पुरस्कार २४ लाख रुपैयाँको चेक पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरेको हो। यो नगद रकम एनसेलका प्रतिनिधिले पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा डा लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन्।
'एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान हाम्रा विद्यार्थीहरुका लागि एउटा ठूलो प्रेरणा र प्रोत्साहन बन्दै आएको छ। मेहनती र जेहन्दार विद्यार्थीहरुको सम्मान गरिने यो कार्यक्रमका लागि हामी एनसेलप्रति सधैं आभारी छौं,' क्याम्पस प्रमुख पौडेलले भने, 'कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिले गर्दा औपचारिक कार्यक्रम सम्भव नभएपनि छात्रवृत्ति र उत्कृष्टता सम्मानको पुरस्कार रकम सबै सम्बन्धित उत्कृष्ट विद्यार्थीहरुलाई चाँडै उपलब्ध गराउने छौं।'
पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौता बमोजिम इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही रु १ लाख नगद हस्तान्तरण गर्ने गर्दछ। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले उत्कृष्ट प्रतिभाहरुलाई कदर गर्न सहकार्य गरिएको बताए। यो कार्यक्रम २०८० सम्म निरन्तर हुने उनले जानकारी दिए।
कार्यक्रमअन्तर्ग एनसेलले प्रत्येक वर्ष इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति र उत्कृष्टता पुरस्कार प्रदान गर्ने गरेको छ। गतवर्ष एनसेलले २०८० सालसम्म ५ संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मानस्वरूप १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्न इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो।
यसअघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जना विद्यार्थीलाई छात्रवृत्ति र २० जना विद्यार्थीलाई उत्कृष्टता सम्मान गरी ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।