काठमाडौं-एनआईसी एशिया बैंकले डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणाली सुरु गरेको छ। यस प्रणालीमार्फत् भौतिक फारमको सट्टा खाता खोल्नका लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
यस प्रणालीमा सेवाग्राहीहरूले ९ वटा ‘न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजना’ मध्ये आफूले इच्छाएको खाता छनोट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्ने जनाइएको छ। कम्प्युटरमा दक्षता नपुगेकाहरुका निम्ति बैंककै कर्मचारीको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिनेसमेत व्यवस्था गरेको बैंकले जनाएको छ। यसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ।
यसरी खाता खोल्दा ग्राहकहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ।
बैंकले यसअघि ‘आइसर्भ’ प्रणालीमार्फत् सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणाली सुरु गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।