काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी दुवैले शीर्ष चारमा स्थान बनाएका छन्। अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई र चेल्सीले वुल्भ्सलाई हराएका हुन्।
म्यानचेस्टर सिटीमाथि लागेको दुई वर्ष युरोपियन प्रतिस्पर्धाको प्रतिबन्ध फुकुवा भएसँगै च्याम्पियन्स लिगमा पुग्ने टिमबारेको निर्णय अन्तिम खेलसम्म पुगेको थियो। ३७ खेल सकिँदा युनाइटेड र चेल्सी दुवैको ६३ अंक थियो भने पाँचौँमा रहेको लेस्टरको ६२ अंक थियो।
लेस्टरविरुद्ध युनाइटेडको जितमा खेलको ७१औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरे। अन्तिम समयमा गोलकिपरको गल्तीको फाइदा लिएर लिङ्गाडले दोस्रो गोल गरे।
यस्तै वुल्भ्सविरुद्ध चेल्सीका मोउन्ट र जिरउडले गोल गरे। मोन्टले पहिलो हाफको अन्तिममा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए। जिरउडले त्यसको एक मिनेटपछि नै दोस्रो गोल थपे।
यस्तै लेस्टरले पाँचौँ स्थानमा र टोटनह्यामले छैठौँ स्थानमा लिग सकाएर आउँदो सिजनको युरोपा लिगमा स्थान पक्का गरेका छन्। लेस्टर युनाइटेडसँग पराजित हुँदा टोटनह्यामले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको हो। वुल्भ्स भने अन्तिम खेलमा चेल्सीसँग हारेर सातौँ स्थानमा झरेर लिग सकाएको छ।
यस्तै नरविच सिटी यसअघि नै रेलिगेसनमा परिसकेको थियो भने अन्तिम खेलपछि ब्रोनमाउथ र वाटफोर्ड पनि रेलिगेसनमा परेका छन्। ब्रोनमाउथले इभर्टनलाई ३–१ ले हराए पनि रेलिगेसन टार्न सकेन। वाटफोर्ड भने अन्तिम खेलमा आर्सनलसँग ३–२ ले पराजित भयो।
कोरोना माहामारीका कारण रोकिएको प्रिमियर लिग नखेली सकाउनुपर्ने हो कि भन्ने डर देखिइरहँदा अहिले ४० दिनमा ९२ खेल हुन सकेर लिगले सफल अन्त्य गर्न सकेको हो।
यस्तै यो सिजन लिगमा २३ गोल गरेका लेस्टरका जेमी भार्डी गोल्डेन बुट जित्न सफल भएका छन्। उनी पछि साउथह्याम्पटनका डानी इन्ग्सले २२ गोल गरेका छन्।
यस्तै म्यानचेस्टर सिटीका डेभिड सिल्भाले सिटीबाट आफ्नो अन्तिम खेल खेले। सिटीले नरविचलाई ५–० ले हराएको हो। प्रिमियर लिगमा ३ सय ९औँ खेल खेलेका सिल्भाले दर्शकबिनाको खल्लो बिदाइ पाए पनि अन्तिम खेलको जितले सकारात्मक अन्त्य भयो। १० वर्षमा सिटीबाट विभिन्न ११ उपाधि जितेका सिल्भा सिटीको बढ्दो लोकप्रियतामा सँगसँगै थिए।
यस्तै यो सिजन २० असिस्ट गरेका म्यानचेस्टर सिटीका केभिन डि ब्रायन असिस्टमा हेनरीको कीर्तिमानसँग बराबरी गरे। २००२–०३ को सिजनमा आर्सनलबाट थिएरी हेनरीले २० असिस्ट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।