काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेले च्याम्पियन्स लिगका खेलहरु गुमाउन सक्ने खतरा बढेको छ। इटेनीसँगको फ्रेन्च कपको खेलमा उनको खुट्टाको जोर्नीमा चोट लागेको थियो।
डिफेन्डर लोइक पेरिनले उनीमाथि फोउल गरेपछि २१ वर्षका एमबाप्पे आँसु झारेर मैदान छाडेका थिए। उनको चोट जटिल देखिए पनि अहिले डाक्टरले विचार गरिरहेको र केही दिनमा थप जानकारी आउने बताइएको छ।
पिएसजीले फ्रेन्च लिग कपको फाइनलमा लायोनसँग जुलाई ३१ मा र इटालियन क्लब एटलान्टासँग च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा अगस्ट १२ मा खेल्दैछ।
पिएसजीले पनि विज्ञप्तीमार्फत एमबाप्पेको चोट गम्भीर देखिएको जनाएको छ। अब डाक्टरसँगको विस्तृत परामर्श र जाँचपछि थप कुरा थाहा हुने पिएसजीले उल्लेख गरेको छ।
यो सिजन एमबाप्पेले पिएसजीका लागि ३३ खेलमा २९ गोल गरेका छन्। अहिले अप्रिलमा लिग सकिएको घोषणा गरेको फ्रान्समा कोरोना माहामारीपछि पिएसजी पहिलो खेल खेल्दै थियो। जसमा नै एमबाप्पे घाइते हुन पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।