काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तिम चरणका खेलहरु आइतबार राति एकसाथ हुँदैछन्। जसमा युरोपियन प्रतिस्पर्धाका लागि छनोट हुने भिडन्तसँगै रेलिगेसनमा पर्ने टिमको पनि टुंगो लाग्न बाँकी नै छ।
म्यानचेस्टर सिटीमाथि लागेको दुई वर्ष युरोपियन प्रतिस्पर्धाको प्रतिबन्ध फुकुवा भएसँगै लिगको शीर्ष चारभित्र अटाउने टिमबारेको निर्णय अन्तिम चरणसम्म पुगेको हो। अहिले तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३७ खेलमा ६३ अंक छ। चौथो स्थानको चेल्सीको पनि ३७ खेलमा ६३ अंक नै छ। पाँचौँमा रहेको लेस्टरको ३७ खेलमा ६२ अंक छ।
च्याम्पियन्स लिगसँगै युरोपा लिगका लागि पनि प्रिमियर लिगका अन्तिम खेलहरु रोचक भइरहेका छन्। लिगमा पाँचौँ र छैटौँ स्थानमा रहने टिमले युरोपा लिगमा स्थान बनाउने छन्। लेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेडमध्ये एक टिम युरोपा लिगमा हुने पक्का छ। त्यसबाहेक वुल्भ्ससँगै टोटनह्यामको पनि सम्भावना बाँकी नै छ।
कोरोना माहामारीका कारण रोकिएको प्रिमियर लिग नखेली सकाउनुपर्ने हो कि भन्ने डर देखिइरहँदा अहिले ४० दिनमा ९२ खेल हुन सकेर लिग अन्तिममा छ। जसमा अन्तिमसम्म रोचक निर्णयहरु बाँकी नै छन्।
अन्तिम दिनमा वुल्भ्स-चेल्सी, लेस्टर-म्यानचेस्टर युनाइटेड, साउथह्याम्पटन-सेफिल्ड युनाइटेड, न्युक्यासल-लिभरपुल, वेस्ट ह्याम-एस्टन भिला, ब्रन्ली-ब्राइटन, आर्सनल-वाटफोर्ड, म्यानचेस्टर सिटी-नरविच सिटी, क्रिस्टल प्यालेस-टोटनह्याम साथै इभर्टन र ब्रोनमाउथबीच खेल हुनेछ।
म्यानचेस्टर युनाइटेडले लेस्टरसँग बराबरी मात्रै गरे पनि शीर्ष चारभित्र स्थान बनाउनेछ। यदि म्यानचेस्टर युनाइटेडले हारेमा चेल्सीको खेलमा निर्भर हुनेछ।
अहिले चौथो स्थानमा रहेको चेल्सीका लागि पनि अन्तिम खेलमा एक अंक आवश्यक देखिन्छ। वुल्भ्ससँगको खेलमा आउने चेल्सीको नतिजासँगै म्यानचेस्टर युनाइटेड र लेस्टरबीचको खेलले फरक पार्नेछ।
लेस्टर सिटी अहिले लिगको पाँचौँ स्थानमा छ। अन्तिम चारमा पर्नका लागि लेस्टरसँग म्यानचेस्टर युनाइटेडलाई हराउनुको विकल्प छैन। यदि चेल्सी वुल्भ्ससँग हारेमा भने लेस्टरका लागि बराबरी पनि शीर्ष चारमा पर्न पर्याप्त हुनेछ।
लेस्टरले पछिल्लो खेलमा टोटनह्यामसँग ३-० ले हारेपछि प्रशिक्षक ब्रेनडान रोजर्सले अन्तिमतिर पुगेको खेलमा आफूहरुसँग अब एक मौका रहेको बताएका थिए। ‘अब सबै खेलाडीहरु आउने खेललाई सोचेर बसिरहेका छन्। यो असाध्यै राम्रो खेल हुनेछ र हामी अगाडि बढ्ने छौँ।’
वुल्भ्सले यदि अन्तिम खेलमा चेल्सीलाई हराएमा युरोपा लिगमा स्थान बनाउनेछ। यस्तै टोटनह्यामका लागि आफ्नो जितसँगै वुल्भ्स र चेल्सीबीचको नतिजाले पनि असर गर्नेछ। वुल्भ्सको अहिले ५९ अंक छ भने टोटनह्यामको ५८ अंक छ।
पुछारका टिमहरुको अवस्थामा यो सिजन नरविच सिटी रेलिगेसनमा परिसकेको छ। ३७ खेलमा ५ जित र ६ खेल बराबरी गरेर २६ खेल हारेको नरविचको २१ अंक मात्र छ। त्यसमाथि रहेका ब्रोनमाउथ र वाटफोर्ड रेलिगेसन नजिक छन्। त्यसका साथै एस्टोन भिला पनि रेलिगेसनको सम्भावनाबाट बचेको छैन।
२३ गोल गरेका लेस्टरका जेमी भार्डी गोल्डेन बुट जित्न नजिक छन्। उनी पछि साउथह्याम्पटनका डानी इन्ग्सले २१ गोल गरेका छन्। यस्तै आइतबार नै गोल्डेन ग्लोभ्स कसले जित्नेछन् भन्ने निर्णय पनि हुनेछ।
म्यानचेस्टर सिटीका डेभिड सिल्भा सिटीबाट आफ्नो अन्तिम खेलमा छन्। प्रिमियर लिगमा ३ सय ९औँ खेल खेल्न लागेका सिल्भाले दर्शकबिनाको खल्लो बिदाइ भोग्दैछन्। १० वर्षमा सिटीबाट विभिन्न ११ उपाधि जितेका सिल्भा सिटीको बढ्दो लोकप्रियतामा सँगसँगै थिए।
यस्तै १९ असिस्ट गरेका म्यानचेस्टर सिटीका केभिन डि ब्रायन असिस्टमा कीर्तिमान बनाउन नजिक देखिन्छन्। २००२-०३ को सिजनमा आर्सनलबाट थिएरी हेनरीले २० असिस्ट गरेका थिए।
प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुल अन्तिम दिनमा एक कीर्तिमान बनाउन सक्ने अवसरमा देखिन्छ। २०१७-१८ को सिजनमा म्यानचेस्टर सिटीले एक सय अंकसहित १९ अंकको भिन्नताले लिग जित्दा सबैभन्दा धेरै अंकको भिन्नता बनाएको थियो। अहिले लिभरपुल र दोस्रोमा रहेको म्यानचेस्टर सिटीबीच १८ अंकको नै भिन्नता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।