काठमाडौं- ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार गरिएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उनलाई पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो।
लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको थियो। उनलाई बोकेर हिँडाउन लाग्दा गुरुज्यूका पल्टनले सलामी अर्पण गरेका थिए। ३२ पानेजु अर्थात् पुजारी सङ्घ सचिव बिनोद बज्राचार्यसहित ‘नेमराज शाक्य’ नामक दुई पुजारी र मोहन शाक्यले यस वर्ष भगवानलाई बोक्ने पालो परेको थियो। रथारोहण हुने चार दिनअघि मच्छिन्द्रनाथ बोक्ने पुजारीले शुद्ध भएर बस्नुपर्ने चलन रहेको सचिव बज्राचार्यले जानकारी दिए।
वृष्टिदेवलाई रथारोहण गराउनुपूर्व तःबहालको डवलीमा भजन मण्डली टोलीले मृदङ्ग भजन कीर्तन पाठ गर्ने परम्परा रहेको भाष्करप्रसाद अमात्यले बताए। उनले भने, ‘उनलाई पुल्चोकबाट गाःबहाल हिँडाउनुपूर्व र त्यहाँबाट अन्य स्थानमा हिँडाउनुपूर्व पनि मृदङ्ग भजन पाठ गर्नुपर्ने हुन्छ।’ मच्छिन्द्रनाथलाई हरिहर अर्थात् महादेवका रुपमा पनि पुजिने भएकाले मृदङ्ग पाठ गरिने चलन रहेको अमात्यले जानकारी दिए।
करुणावतारलाई रथारोहण गराउन लैजाँदा एक पानेजुले हातमा ॐ लेखेको थाली, एकले बालेको बत्ती, एकले भगवानलाई झल्लरी छाता, केहीले काँ बाजा बजाएर लगेका थिए। रथारोहणका लागि यो उत्तम र अन्तिम साइत रहेको, यो साइतमा रथारोहण नगरेमा तत्कालै शुभ साइत नभएको, मच्छिन्द्रनाथलाई नौ महिनामा बुङ्मती फर्काउन नहुने, असोज २ गतेदेखि मलमास शुरु हुने भएकाले त्यसबेला रथारोहण र रथजात्रा दुवै गर्न नहुने ज्योतिषी जोशीले बताए। उनले भने, ‘ललितपुरमा रहेका धार्मिक सङ्घसंस्था, ज्यापू समाज, स्थानीय जनता गुठी संस्थान शाखा कार्यालय ललितपुर र ललितपुर महानगरपालिकाको पहलमा रथारोहण सम्पन्न गरियो।’
लोकनाथको रथारोहण सम्पन्न भएसँगै कोरोना महामारीका कारण के होला भन्ने चिन्ता हटेको ७० वर्षीय ञ्वाल सूर्यमान डङ्गोलले बताए। यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो। यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। यसपटकको रथारोहणमा कोभिड–१९ संक्रमणको बेवास्ता गरी हजारौं मानिस रथारोहणमा उपस्थित भएका थिए। काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च छ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरबासीले भिक्षा नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए।
भोटोजात्राको कथा
किंवदन्तीअनुसार काठमाडौं उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो। त्यो नागका राजा कर्काेटक नागको जोडी थियो। एकपटक नागिनीको आँखा बिरामी भयो। राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए। कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए। नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए। ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे। दुवै टौदह पुगे। वैद्यले नागिनीका आँखामा मल्हम बनाएर लगाइदिए। उनको आँखा निको भयो। नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए। सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो। त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे। ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो। ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो। हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे। उनले भूतलाई समात्न सकेनन्।
पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो। यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपुर्याउँदा उपत्यकाबासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे। त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे। नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ। त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो। बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते। उनले भूतसँग आफ्नो भोटो मागे। भूतले दिन मानेन। दुवैका बीच ठूलो झगडा भयो। राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए। राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए। वैद्यले राजासामु ‘महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चोर्यो’ भने। भूतले भोटो मकैबारीमा आफूले पाएको राजासामु बतायो। गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ।
प्रमाणका लागि ज्यापू वैद्यले टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे। नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए। ‘म आउँदा हुरी चल्नेछ, म अरुभन्दा अग्लो पनि देखिने छु,’ कर्काेटक नागले भने। त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो। ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए।
राजा गुणकामदेव पनि त्यहाँ आए। एकछिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन्। राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ।
तान्त्रिक गुरु बन्धुदत्त बज्राचार्यले रथ निर्माण गर्न अपनाएको विधिअनुसार नै रथ निर्माण गर्ने गरिएको छ। मच्छिन्द्रनाथको रथ शिखराकार भई माथिको गोलाइ सानो हुँदै जान्छ। रथमा त्रयोदश भुवनको प्रतीकस्वरुप तेह्र तला राखिन्छ। रथ बत्तीस लक्षणले युक्त मानिन्छ। रथका चार पाङ्ग्रालाई चार भैरवको प्रतिकस्वरुप मानिने ८३ वर्षीय ञ्वाँल आशालाल महर्जनले बताए। उनले भने, ‘यी चार भैरवहरुमा हयसिद्ध, हयग्रीव, लुप्त संहार (लुइता संहार) र लुभूको नन्दकुण्ड हुन्।’
रथको मुनि बीचमा राखिएको लामो काठलाई घःमा भनिन्छ। घःमालाई कर्काेटक नागका रुपमा मानिएको छ। यसको अग्र भागमा हयग्रीव भैरवको मूर्ति स्थापना गरिएको छ। रथ तान्दा कुनै बिघ्नबाधा नहोस् भनेर कर्काेटक नागराजको शिखा बिघ्नातक भैरवलाई आह्वान गरिन्छ। रथ तान्दै लैजाँदा दायाँबायाँ नढल्कियोस् भनी मेरुदण्ड सिधा गर्न डोरीले दायाँबायाँ आवश्यकतानुसार तन्काउने गरिन्छ। यसरी तान्ने डोरीलाई थरिथरि नागका रुपमा मानिने सिद्धिबहादुर महर्जनले बताए। उनले भने, ‘दायाँ जगलाई बासुकी नाग र बायाँ जगलाई शेषनागका रुपमा मानिन्छ।’ रथमा मच्छिन्द्रनाथको पछाडि रक्तवर्ण बोधिसत्व स्थापना गरिन्छ। यसलाई महादेव वा शिवको प्रतिकका रुपमा मानिने महर्जनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।