काठमाडौं- स्पेनिस ला लिगाको उपाधि गुमाएको बार्सिलोनाका लागि सिजन अझै सकिएको छैन। च्याम्पियन्स लिगको तयारीअघि खेलाडीहरु एक हप्ताको बिदामा छन्। यस्तोमा बार्सिलोनाले खेलाडी किनबेचको आउँदो समयमा लागि बाहिर पठाउन सकिने खेलाडीको सूचि बनाउन थालेको लामो समय भयो।
कोरोना माहामारीपछि कठिन बनेको फुटबल बजारमा खेलाडी किनबेच सहज पक्कै छैन। तर पनि इटालियन क्लब इन्टर मिलानबाट स्ट्राइकर लाउटारो मार्टिनेज ल्याउने मुख्य योजनामा रहेको बार्सिलोनाले आफ्ना १२ खेलाडीहरु बिक्रिको सूचि बनाएको छ।
कतिपय खेलाडीहरु प्रशिक्षक क्विके सेटियनको पहिलो टिममा पर्ने पक्का छैनन्। गएको सिजन लोनमा अरु क्लब गएका कतिपय खेलाडीहरु यो सिजन फर्कंदैछन्।
त्यसैले खेलाडीहरु नेटो, नेल्सन सेमेडो, स्यामुअल उमटिटी, जुनियर फ्रिपो, इभान राकिटिक, आर्टुरो भिडाल, उसमान डेम्बेले, मार्टिन ब्रेथवेट, कार्लेस एलेना, राफिन्हा, टोडिबो र फिलिप कोउटिन्हो बिक्रीको सूचिमा देखिन्छन्। त्यसमा सबै खेलाडी बाहिर पठाउने नभए पनि यिनैमध्ये केही खेलाडीको बिदाइ हुनेछ।
यी खेलाडीहरुको बिक्रिले संकटको समयमा क्लबका लागि आर्थिक जोहोको राम्रो माध्यम बन्ने भए पनि बार्सिलोनामा खेलाडी संकटको समस्या भने बढ्न सक्नेछ। अहिले नै चोटका कारण खेलाडी समस्यामा रहँदा स्क्वार्ड पूरा गर्न नसकेको बार्सिलोना त्यसपछि थप समस्यामा पर्नेछ।
बाहिर अरु क्लबबाट खेलाडी ल्याउनका लागि अहिले बेच्ने तयारीमा रहेका खेलाडीहरुले मद्धत गर्ने बार्सिलोनाको बुझाइ छ। त्यसमा खेलाडी साटफेरको नीतिमा पनि बार्सिलोनाले सोच बनाइरहेको देखिन्छ।
च्याम्पियन्स लिगमा राम्रो गर्न नसके प्रशिक्षक सेटियनकै भविष्यमाथि प्रश्न उठिरहँदा अब उनको योजना के हुन्छ भन्ने पनि यकिन छैन। आर्थर मेलोलाई युभेन्टस पठाउँदा नै आलोचना भोगेको बार्सिलोना बोर्डले त्यसलाई सुधार गर्न पनि भूमिका देखाउनुपर्नेछ।
बार्सिलोनाले च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा नापोलीसँग अगस्ट ९ तारेखमा खेल्दैछ। पहिलो लेगमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।