काठमाडौं- सरकारले भारत र बंगदालेशसँग ‘डे–अहेड’, ‘टर्म–अहेड’ प्रणालीमा विद्युत व्यापारको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने सैद्धान्तिक स्वीकृति दिएको छ। छोटो समयको बजार (सर्ट टर्म मार्केट) हेरेर विद्युत आदान–प्रदान (इनर्जी एक्सचेन्ज) गर्न सक्ने प्रावधान कार्यान्वयन गर्नेगरी सरकारले स्वीकृति दिएको हो।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले यी दुई मुलुकसँग नेपालले एक दिनअघि विद्युत किनबेचका लागि बुक गर्ने (डे–अहेड) र केही दिनपछि अथवा धेरै दिनको अन्तर राखेर पहिल्यै खरिद बिक्रीका लागि बुक गर्ने (टर्म–अहेड) प्रणालीमा विद्युत खरिद बिक्री गर्ने जिम्माका लागि प्राधिकरणलाई सैद्धान्तिक स्वीकृति दिएको हो।
‘नेपालमा उत्पादन भई विद्युत खपत हुन नसक्ने अतिरिक्त विद्युत वा आन्तरिक उत्पादनमा कमी आई अपुग हुने विद्युत छिमेकी मुलुक भारत र बंगलादेशतर्फ वा ती देशबाट बोलपत्र वा डे–अहेड, टर्म अहेडलगायतका अल्पकालीन, मध्यकालीन, र दीर्घकालीन रुपमा बिक्री वा खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई खरिद वा बिक्रीमा सम्पूर्ण चरणको विद्युतीय अभिलेखसमेत राख्नेगरी पूर्व स्वीकृति प्रदान गर्ने’ कुरा मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।
यो शैलीमा विद्युत व्यापार गर्नका लागि प्राधिकरणले भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमसँग सम्झौता गरिसकेको छ भने बंगलादेशसँग यस्तो सम्झौता हुन बाँकी छ।
भारतले डे–अहेड, टर्म–अहेड प्रणाली यसअघि नै कार्यान्वयनमा ल्याइसकेको छ। भारतले सीमापार विद्युत व्यापार निर्देशिका जारी गर्दै हरेक १५–१५ मिनेटमा विद्युत किनबेचका लागि अर्डर गर्न सकिने र महशुल दर पनि फरक–फरक भएको यो व्यवस्था कार्यान्वयनमा ल्याएको सम्बन्धमा नेपालको धारणा माग गरेको थियो।
तर डे–अहेड टर्म–अहेड विद्युत कारोबारसम्बन्धी नेपालले नीतिगत र प्राविधिक व्यवस्था गर्न भने बाँकी थियो। सोमबारको मन्त्रिपरिषदको निर्णय पनि अब प्राधिकरणले यो प्रणाली कार्यान्वयनमा ल्याउन पहल गर्नेछ।
सरकारको नयाँ निर्णयबाट निर्माणको अन्तिम चरणमा रहेका ठूला आयोजनाबाटलाई फाइदा पुग्नेछ। ती आयोजनाबाट उत्पादित विद्युत नेपालभित्र मात्रै खपत हुन नसक्ने अवस्थामा भारतलगायत छिमेकी मुलुकमा डे–अहेड, टर्म–अहेड प्रणालीमा विद्युत व्यापार गर्न सहज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।