विराटनगर– गत चैत ३ गते सुनसरीको बराहा क्षेत्र स्थित इक्राइमा भएको आगलागिमा ४७ परिवारका ७० घर जले। विद्युत् सर्ट भएर सुरु भएको आगोले १ करोड ३७ लाख ६० हजार बराबरको क्षति भयो।
२० वटा पशु चौपाया जलेर मरे। आगो नियन्त्रणका क्रममा सिलिन्डर पड्केर कोसी गाउँपालिका ३ का ४१ वर्षीय प्रभु सरदार घाइते भए। विराटनगर, इटहरी, धरान, इनरुवा, दुहवी र राजविराजका ५ वटा दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीहरुको सक्रियतामा लामो समयपछि आगो नियन्त्रणमा आयो।
चैत ११ गते राती कोशी गाउँपालिका–१ लौकहीमा आगलागी हुँदा विन्देश्वर मरिकका १२ वर्षीय छोरा सुरज मरिकले ज्यान गुमाए। लामखुट्टे धपाउन बालिएको सल्केको आगो समयमा निभाउन नसक्दा अनियन्त्रित भयो र भित्र सुतेका बालकको मृत्यु भयो।
चैत १८ गते कोसी गाउँपालिका– ६ श्रीपुरमा आगलागी भयो। थ्रेसरबाट सुरु भएको आगालागीमा परी १५ परिवारका २० भन्दा बढी घर जलेर नष्ट भए। आगो नियन्त्रणका लागि इनरूवा नगरपालिकाको दमकल पर्याप्त नभएपछि भारतीय दमकल मगाउनुपर्यो।
लगत्तै भोक्राहामा पनि आगलागी भयो। १७ घर जले, लाखौंको क्षति भयो। सवै घट्नामा सर्वसाधारणले ब्यहोर्नु परेको सास्तीको लेखाजोखा नै छैन। आगलागीपछि पीडित सर्वसाधारणले अहिले पनि सुबिस्ताको सास फेर्न सकेका छैनन्।
आगलागी पछाडिका धेरै कारण देखिए, तर आगो लागिसकेपछि बढी क्षति हुनुमा दमकलको असहजता प्रमुख कारण बन्यो। यी सबै ठाउँमा समयमा दमकल पुगेनन्, मानवीय प्रयासले मात्रै आगो नियन्त्रणमा आउन नसक्दा ठूलो क्षति भयो।
सुनसरीका अहिले तीन वटा दमकल छन्। धरान र इटहरी उपमहानगर तथा इनरुवा नगरपालिकासँग १÷१ वटा दमकल छन्। १२ मध्ये अन्य ९ स्थानीय तहमा अहिले पनि दमकल खरिदको प्रयास सुरु भएको छैन। इनरुवा नगरपालिकामा रहेको एउटा दमकलले तीन नगरपालिका र तीन गाउँपालिकामा सेवा दिँदै आएको छ। एउटा दमकलले धेरै क्षेत्रमा सेवा दिनुपर्दा समयमै दमकल नआउने र धेरै क्षति हुने गरेको स्थानीयहरु गुनासो गर्छन्।
प्रायः अधिकांश स्थानीय तहमा अहिले जनप्रतिनिधिका लागि सरकारी बजेटबाट महँगा गाडी किनिए। तर, आगो नियन्त्रण गर्न आवश्यक पर्ने दमकल किन्नेतर्फ कसैको पनि ध्यान गएको पाइएन। स्थानीय तहमा सबैको एउटै उत्तर हुन्छ– ‘बजेट नहुँदा दमकल किन्न सकिएन।’ कोसी, भोक्राहा–नरसिंह, हरिनगर, देवानगन्ज, गढी र बर्जु गाउँपालिकाले बजेट अभाव हुँदा दमकल खरिद गर्न नसकिएको बताएका छन्।
गाउँपालिकामा आएको बजेट विकास निर्माणमै नपुग्ने हुँदा दमकल खरिद गर्न नसकिएको बर्जु गाउँपालिकाका अध्यक्ष रहुनन्द चौधरीले बताए।
‘२–३ वटा गाउँपालिका मिलेर दमकल खरिद गर्ने विषयमा पहल भइरहेको छ’, अध्यक्ष चौधरीले भने, ‘आगामी वर्षमा दमकल खरिदका लागि पनि बजेट छुट्याउँछौं।’ यस वर्ष सबै वडामा दमकल र एम्बुलेन्स पुग्ने बाटो विस्तार गरिने चौधरीले बताए।
यसैगरी, रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले दमकल आवश्यक भए पनि नगरपालिकाले किन्ने अवस्था नरहेको बताए।
‘दमकलसँगै २ दर्जन जति कर्मचारी पनि चाहिन्छ, त्यत्रो आर्थिक भार धान्ने हाम्रो हैसियत नै छैन’ उनले थपे–‘सानातिना आगलागीका घटना पम्पसेटबाट नियन्त्रण गर्ने गरी तयारी गरिरहेका छौं।’ उनले दमकल किन्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए।
सर्वसाधारण भने बजेटभन्दा पनि जनप्रतिनिधिमा समवेदनाको कमी देखिएको आरोप लगाउँछन्। रामधुनी नगरपालिकाका एक सर्वसाधारण भन्छन्, ‘आफ्नो सुविधाका लागि महँगा गाडी किन्न बजेट हुने, दमकल किन्न चाहिँ नहुने?’
दुहवी नगरपालिकाका स्थानीय विनोद चौधरीले पनि जनप्रतिनिधिले नै खासै चासो नदिँदा दमकल खरिदमा समस्या देखिएको बताउँदै आगलागी भइहाले दुःख पाउने र पछुताउने बाहेक अर्को विकल्न नहुने बताए।
‘सुनसरीका ग्रामीण क्षेत्रमा खर, परालले छाएका बस्ती धेरै छन्। त्यस्ता बस्तीमा आगलागीको जोखिम वढी हुन्छ’ उनी भन्छन्–‘दमकल नहुँदा त्यस क्षेत्रमा हुने आगलागी नियन्त्रण गर्न पूर्वतयारी पनि खासै देखिएको छैन।’
हुन त जिल्ला विपद् व्यवस्थापन समितिले पनि हरेक वर्ष गर्मी र हावा–हुरीको मौसम सुरु भएपछि आगलागी हुन नदिन र भइहाले क्षति कम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्छ। तर, दमकलको व्यवस्थापन गर्नेतर्फ भने समितिको ध्यान जान नसकेको जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।