काठमाडौं- रानीपोखरी अवरुद्ध पुनर्निर्माण कार्य आउँदो जेठ १ गतेदेखि सुरु हुने भएको छ। पुनर्निर्माण क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री बैसाख मसान्तसम्ममा निकाल्ने योजना छ।
पछिल्लो निर्णयअनुरुप निर्माणको काम सुरु गर्नुपर्ने भएकाले बैसाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गरिएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए। 'अबको केही दिनभित्रै पुनर्निर्माणका क्रममा प्रयोग भएको सबै सामग्री हटाइनेछ,' उनले भने, 'जेठ १ गतेदेखि निर्माणको काम सुरु गर्नेगरी कामपाका पदाधिकारीबीच छलफल भइसकेको छ।'
परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनर्निर्माणका क्रममा प्रयोग भएका निर्माण सामग्री हटाइने निर्णय भएको थियो। परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करिब तीन महिनादेखि पोखरी पुनर्निर्माणको काम रोकिएको छ।
रोकिएको काम सुरु गर्न गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपा प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललबीच भएको छलफलले आधुनिक निर्माणका सामग्री हटाउने निर्णय गरेको थियो। मन्त्री अधिकारीले सम्पदा व्यवस्थापन स्थानीय सरकारले नै गर्ने भएकाले महानगरको काममा सबैलाई सहयोगीरुपमा रहन आग्रह गरेका छन्।
'उद्देश्य सम्पदाको संरक्षण गर्ने हो,' कामपाका प्रमुख शाक्यले भने, 'मापदण्डका विषयमा कुरा गरौँ, सहमति गरौँ, एउटै मापदण्डका आधारमा पुनःनिर्माण गर्नुपर्छ।'
यसअघि कामपाले विज्ञको सल्लाहअनुरुप पुनर्निर्माण गरिनुपर्ने बताउँदै आएको थियो। पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण विभागले गर्दै गरेको भए पनि अन्य सबै काम कामपाको जिम्मामा आएको छ।
करिब ४ सय वर्ष पुरानो ऐतिहासिक रानीपोखरीमा विसं २०७२ बैसाख १२ गतेको भूकम्पका कारण क्षति पुगेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।