काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशक सेवा गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट बिदा लिने भएका छन्। संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलतापूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट बिदा लिन लागेका हुन्।
नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकालमा सबै कम्पनीका सूचकांकमा उत्कृष्ट बन्दै जीवनबीमाका क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको छ।
सहकर्मी कर्मचारी नै मूल शक्ति मान्ने र अभिकर्तालाई प्रगतिको साझेदारको ठान्ने झाले अभिकर्ताहरुको लगनशीलता, बिमितहरूको विश्वास, कर्मचारीहरूको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गरेका छन्।
सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरेका थिए। संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।