बुटवल– गुन्डा नाइके मनोज पुनलाई अपराध कार्यमा सघाएको अभियोगमा काठमाडौंमा पक्राउ परेका युवा संघ रुपन्देहीका इञ्चार्ज सुजु मल्ललाई प्रहरीले सार्वजनिक गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गरी मल्ललाई सार्वजनिक गरिएको हो। उनलाई युवा संघको केन्द्रीय बैठकमा सहभागी हुन गएका बेला बुधबार राति काठमाडौंबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए।
निर्माण कम्पनीका ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो। मल्ल दुर्गा तिवारीको हत्यापछि बुटवलमा भएको एक साता लामो आन्दोलनको अग्रमोर्चामा देखिन्थे।
दिउँसो आन्दोलनमा उत्रिएर भाषण गर्ने उनी आन्दोलन टुंग्याउन दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुने र त्यहाँका सूचना मनोजलाई दिने गरेको प्रमाण फेला परेको प्रहरी प्रमुख ज्ञवालीले बताए। त्यसपछि पनि मनोजको अपराध कर्मलाई सघाउन उनको भूमिका रहेको पाइएको छ।
प्रहरीले यसअघि पुनका विशेष सहयोगी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र युवा संघका जिल्ला नेता उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–६ का रोशन खड्का र बुटवल–४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मनोज पुन र उनका विशेष सहयोगी सोम आले प्रहरीको इन्काउन्टरमा गत फागुन ९ गते रूपन्देहीको देवदहमा मारिएका थिए। तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाईं, पारस भट्टराई लगायत १८ जना जेल चलान भइसकेका छन्। पुनको आपराधिक यात्रामा एक भारतीय नागरिक बिट्टु सिंहसहित केही व्यक्ति अझै फरार रहेको र उनीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।