सुर्खेत– चालु आर्थिक वर्षको बाँकी दुई महिनाका लागि बजेट ल्याउने तयारीमा कर्णाली प्रदेश सरकार जुटेको छ। जतिसक्दो छिटो बजेट ल्याउने गरी तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए।
बजेट तयार पार्नका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालयलाई नीति तथा कार्यक्रमको संक्षिप्त विवरण प्रदेश सरकारलाई पेश गर्न अनुरोध गरिसकेको छ। संघीय सरकारबाट प्रदेश सञ्चित कोषमा १ अर्ब २ करोड रुपैयाँ प्राप्त भएको छ। सोही रकमबाट चालु आर्थिक वर्षको बाँकी अवधिका लागि खर्च गर्नेगरी बजेट ल्याउने तयारीमा सरकार जुटेको हो। आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाको संयोजकत्वमा बजेट तयारी लगायत विभिन्न काम गर्न समिति नै गठन गरिएको छ।
बजेटका प्राथमिकता
पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको मन्त्री ज्वालाले बताए। कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार निर्माण नभएकाले सरकारको प्राथमिकतामा पूर्वाधार विकासका योजना नै पर्ने उनले जनाए। मन्त्री ज्वालाका अनुसार सडक, विद्युतीकरण, खानेपानी, सिचाइँ, पर्यटन र कृषिसँग सम्बन्धित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट बनाइनेछ।
‘हाम्रो प्राथमिकतामा पूर्वाधार विकासको योजना नै हुन्छ,’ मन्त्री ज्वालाले भने, ‘आवश्यकतामा आधारित बजेट ल्याउँदै छौं।’
छोटो अवधिका ल्याइने बजेट भएकाले कार्यान्वयन गर्न सकिने योजनाहरु मात्रै छनौट गरिने मन्त्री ज्वालाले बताए। ‘छिटो कार्यान्वयन गर्न सकिने योजनाहरु बजेटमा समेट्छौं। यो छोटो अवधिको बजेट हो, आउँदो असारमा नयाँ वर्षको पूर्ण बजेटमा बृहत् योजना समेटिनेछन्,’ उनले भने। उनले जनताको जीवनस्तर, समग्र प्रदेशको अर्थतन्त्र र समृद्धिसँग जोडिएका कार्यक्रम समेट्नेगरी तयारी अघि बढिरहेको जानकारी दिए।
बजेटमा किन ढिलाइ?
यसअघि प्रदेश सरकारले गत चैतभित्रै बजेट ल्याउने तयारी गरेको थियो। तर, हालसम्म बजेट आउन सकेको छैन। आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत मसान्तभित्र विशेष बजेट ल्याउने तयारी पनि थालेको थियो। प्रदेश सरकारको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ मा रारामा पर्यटन वर्ष शुभारम्भ गर्ने भएपछि त्यसैको तयारीमा जुट्दा श्वेतपत्रसँगै जारी गर्ने र बजेट ल्याउने काम दुवै प्रभावित भएका हुन्।
सरकारका मन्त्रीहरूदेखि कर्मचारी सबै कर्णाली–रारा पर्यटन वर्ष २०७५ को तयारीमा जुटेपछि बजेटको तयारीमा पनि ढिलाइ भएको जनाइएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली रारा पर्यटन वर्ष सरकारकै कार्यक्रम भएकाले तोकिएको समयमा बजेट सार्वजनिक गर्न नसकिएको बताए। उनले जतिसक्दो छिटो बजेट ल्याउने गरी काम भइरहेको जनाए।
नीति तथा कार्यक्रमको पनि तयारी
सरकारले नीति तथा कार्यक्रम ल्याउन पनि ढिलाइ गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्छ। तर, सरकार बजेट सँगसँगै नीति तथा कार्यक्रम निर्माणमा लागिरहेको छ।
प्रदेशसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ। संसदले हालसम्म आर्थिक कार्यविधि सम्बन्धी विधेयक मात्र पारित गरेको छ, जुन अझै प्रमाणीकरण भएको छैन।
श्वतेपत्र नआउने
कर्णाली प्रदेश सरकारले जारी गर्ने भनेको श्वेतपत्र जारी नहुने भएको छ। यसअघि प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने तयारी गरेको थियो। तर, कर्णाली–रारा पर्यटन वर्षको तयारीका कारण श्वेतपत्र निर्माण गर्न ढिलाइ भएपछि सरकारले श्वेतपत्र जारी गर्ने योजना अहिलेलाई रोकेको छ।
अब छिट्टै नै नीति तथा कार्यक्रमसहित बजेट ल्याउने तयारी भइरहेको सरकारका प्रवक्ता एवं भूमी व्यवस्था तथा कृषिमन्त्री विमला केसीले जानकारी दिईन्।
उनले केन्द्र सरकारले दिएको १ अर्ब अनुदान रकमबाट चालु आर्थिक वर्षको बाँकी महिनाका लागि बजेट ल्याउन लागिएको भन्दै त्यसअघि नीति तथा कार्यक्रम निर्माणको गृहकार्य भइरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।