काठमाडौं– बिहीबार राति त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर जहाज चौरमा पुगेपछि बन्द रहेको उडान-अवतरण १२ घन्टापछि सुरु भएको छ। मलेसियाको क्वालालाम्पुर उड्न लाग्दा मालिन्दो एयरको जहाज गएराति धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको थियो।
नेपाली सेना, प्रहरी र निगमका प्राविधिक कर्मचारीले संयुक्त रुपमा जहाजलाई केहीबेरअघि दुर्घटनास्थलबाट तानेर पार्किङ क्षेत्रमा ल्याएका हुन्। उक्त कार्यमा नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी जहाज तानेका थिए। जहाज रनवेबाट झन्डै ४० मिटर पर चौरमा पुगेको थियो।
जहाजलाई रनवेतिर ल्याइएकाले अब अन्तर्राष्ट्रिय र आन्तरिक उडान अवतरण सुचारु भएको विमानस्थल स्रोतले जनाएको छ। विमानस्थल स्रोत भनेको छ, 'अब वमानस्थल नर्मल अवस्थामा आइसकेको छ।'
ओडी १८१ नम्बरको मालिन्दा जहाजमा जम्मा १३९ यात्रु थिए। उनीहरुको राति नै सकुशल उद्धार गरिएको थियो। विमानस्थल बन्द भएपछि रातिदेखि नै अवतरणका लागि आएका अन्तरराष्ट्रिय विमानहरु भारत र बंगलादेशतिर डाइभर्ट गरिएकाे थियो। डोमेस्टिक उडान पनि बन्द गरिएकाले सयौं यात्रु अलपत्र परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।