काठमाडौं- 'इजी ट्याक्सी नेपाल एप'ले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बिमा गरिदिने व्यवस्था ल्याएको छ। पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बिमा गर्ने व्यवस्था गरेको हो।
यस योजनाअन्तर्गत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत् ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्ने वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ। यस इजी ट्याक्सी नेपालको एपमार्फत् यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन्।
यस एपभित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ। जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्छन्। यसबाट चालक तथा यात्रु दुवै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ।
यस प्रकारको सिस्टमले नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ गर्नुपर्दा सहयोग पुग्नुका साथै आवश्यक विवरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ। इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसायसमेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बिमा गर्न लागिएको बताए।
‘भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन् र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बिमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्नेछन्,’ अध्यक्ष पौडेलले भने।
ट्याक्सी व्यवसायीलाई ट्याक्सी बिमा गराउँदा विभिन्न बिमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बिमा गराउने व्यवस्थासमेत गरेको छ। जसअन्तर्गत इजी ट्याक्सी नेपालले ट्याक्सी बिमामा न्यूनतम ७ सयदेखि ८ हजार ७ सय ६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।